सार्क सम्मेलनको औपचारिक प्रकृया आजदेखि

  • 22 नोभेम्बर 2014

दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कका सदस्य राष्ट्रहरुका परराष्ट्र मन्त्रालयका उच्च अधिकृत स्तरको कार्यक्रम समितिको बैठक शनिवारदेखि काठमाण्डौंमा शुरु हुँदैछ।

Image caption सार्कको मुखमा काठमाण्डूमा सरसफाइ, मर्मत-सम्भार र पुनर्निर्माण गरिएको छ

सार्क सम्मेलनले पारित गर्ने सम्झौता र घोषणापत्रको गृहकार्य शुरु गरिने यस बैठकसंगै १८ ‍औं सार्कका औपचारिक प्रकृया शुरु हुनेछन्।

उक्त प्रकृया आगामी विहिबार शिखर सम्मेलनको समापनसंगै सकिनेछन्।

आकर्षण

शिखर सम्मेलनको उदघाटन मंसिर १० गते हुनेछ भने ११ गते समापन गर्नु अघि आठै देशका सरकार तथा राष्ट्रप्रमुखहरुलाई धुलिखेलमा अनौपचारिक र खुला वातावरणमा छलफल गराउन रिट्रिटमा लगिनेछ।

भारत र पाकिस्तानका प्रधानमन्त्री समेत सम्मेलनमा सहभागी हुन आउने हुँदा यस्ता रिट्रिटमा उनीहरुबीच हुन सक्ने छलफलको छुट्टै आकर्षण हुने गरेको छ।

रिट्रिटले यस क्षेत्रका नेताहरुलाई खुलस्त भई आपसी छलफल गर्न सहयोग पुर्याउने अधिकारीहरुको विश्वास छ।

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे भन्छन्, "कतिपय कुराहरुले द्विपक्षीय, त्रिपक्षीय र पारस्परिक हितलाई प्रबर्द्धन गर्ने आपसी सदभावलाई वृद्धि गर्ने र एकले अर्कामाथिको विश्वासलाई जगाउने र बढाउने काम गर्छन्। त्यस्ता कुराहरु सम्मेलनमा रिट्रिटका बेलामा खुला खुलस्त रुपमा गर्न वहाँहरुलाई हामीले वातावरण बनाइदिनेछौं।"

सन् १९८७ र सन् २००२ मा गरी यसअघि दुई पटक सार्क शिखर सम्मेलनको आयोजना गरेको अनुभव संगालेको नेपालले यसपटक १८ ‌औं सम्मेलनको आयोजना गर्दैछ।

सम्भावित सम्झौता

सार्कका आठ सदस्य राष्ट्रहरु नेपाल, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, श्रीलंका, अफगानिस्तान र पाकिस्तानका सरकारप्रमुख तथा राष्ट्रप्रमुखहरुबीच बुधबार र विहिबार हुने शिखर सम्मेलनको पूर्वतयारीका निम्ति कार्यक्रम समिति नामक संयन्त्र मार्फत कार्य थालिने छन्।

यसपालीको सार्क सम्मेलनले यसअघिको शिखर सम्मेलनपछि सम्पन्न भएका बैठकका प्रतिवेदनहरुको समीक्षा गर्नुका साथै सार्क वित्त, गरिबी निवारण, कृषि तथा ग्रामीण विकास, सामाजिक विकास, स्वास्थ्य र जनसंख्या लगायत सार्क अन्तर्गत स्वीकृत सहयोगका क्षेत्रहरु सम्बन्धमा छलफल र विचार विमर्श गर्नेछ।

हालसम्म सार्क उर्जा सहयोग, रेलवे सेवा र मोटर गाडी आवतजावत बारे सम्झौता हुन सक्ने ठानिएको छ।

कार्यक्रम समितिको निचोडपश्चात ती विषयहरु क्रमैसंग मंसिर ७ र ८ गते हुने विदेश सचिव स्तरको सार्क स्थायी समिति तथा मंसिर ९ गते हुने मन्त्रीस्तरको सार्क मन्त्रिपरिषदमा पेश गरिनेछन्।

ती सबै विषयलाई सार्क शिखर सम्मेलनमा अन्तिम सहमतिका लागि पेश गरिनेछ।