युरोपेली आयोगको ३ खर्ब यूरो लगानी योजना

  • 26 नोभेम्बर 2014
यङ्कर तस्वीर कपीराइट EPA
Image caption यङ्करको लगानी योजना अझै अपुग रहेको आलोचकहरुले बताएका छन्

युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यङ्करले ३ खर्ब यूरोको लगानी योजना प्रस्तुत गर्दै त्यसले आर्थिक सुधारको आशा जगाउने बताएका छन्।

प्रस्तावित लगानी खासगरी दक्षिणी युरोपका ठूल्ठूला आयोजनाहरुमा लगाइनेछ।

आयोगका अध्यक्ष यङ्करले भने, "उक्त पाँच वर्षे योजनाको केन्द्रमा २१ अर्ब यूरो बराबरको कोष रहेको छ जसलाई शुरुवाती बीज कोषको रुपमा उपयोग गरिनेछ र यसले निजी लगानीकर्ताहरुलाई त्यसमा आफ्ना लगानी थप्न प्रोत्साहित गर्नेछ।"

त्यसमध्ये केवल ८ अर्ब यूरो युरोपेली संघको बजेटबाट आउनेछ।

बीबीसीका एकजना सम्वाददाता भन्छन्, उनको योजनाले सफलता प्राप्त गर्न निजी क्षेत्रबाट नब्बे प्रतिशतभन्दा बढी लगानी आउनुपर्नेछ।

भार

उनको योजनाले वित्तीय संकटपश्चात भारी ऋणहरु बेहोर्न वाध्य युरोपका सरकारहरुको भार कम गर्ने अपेक्षा गरिएको छ।

तर आलोचकहरुले उनको योजनालाई निकै सानो भनेका छन्।

उनीहरुका अनुसार राम्रै फरक पार्ने हो भने त्यो भन्दा निकै धेरै रकमको लगानी आवश्यक हुन्छ।

यङ्करको योजनामाथि प्रारम्भिक टिप्पणी गर्दै जर्मन चान्सलर एंगेला मर्कलले जर्मन संसद समक्ष बोल्दै सो प्याकेजको सिद्धान्तत: समर्थन गरिन्।

तर भविष्यमा कहाँ कहाँ आयोजनाहरु सञ्चालन हुने हो त्यो सबैलाई प्रष्ट पारिनुपर्ने उनले बताइन्।