फेर्गुसनमा थप हिंसात्मक प्रदर्शन

  • 26 नोभेम्बर 2014
तस्वीर कपीराइट BBC World Service
Image caption आक्रोशित प्रदर्शनकारीहरुले दर्जनौं कार तथा भवनहरुमा आगजनी गरेको अधिकारीहरुले बताएका छन्

एकजना अश्वेत किशोरलाई गोली हानी हत्या गर्ने गोरा जातिका प्रहरीविरुद्ध मुद्दा चलाउन नपर्ने एउटा समितिको निर्णयपछि अमेरिकाको मिजोरी राज्यको फेर्गुसन सहरमा थप प्रदर्शनहरु भएका छन्।

माइकल ब्राउनमाथि गोली प्रहार गर्ने प्रहरी अधिकारी डर्रेन विल्सनविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय उक्त समितिले सोमबार सुनाएको थियो।

१२ सदस्यीय समितिले निर्णय सुनाए लगत्तै प्रदर्शनहरु सुरु भएका थिए।

प्रहरी र प्रदर्शनकारीहरुबीच सोमबार राति भएका हिंसात्मक झडपपछि पुनः प्रदर्शनहरु भएका हुन्।

अस्वीकार्य

प्रदर्शनकारीहरु पुनः जम्मा भईसकेका छन्।

भेला हुनुअघि सयौं मानिसहरुले सेन्ट लुइस काउण्टीको अदालत भवनबाहिर प्रदर्शन गरेका थिए।

ब्राउनको परिवारका वकिलहरुले समितिको निर्णय स्वीकार्य नभएको बताएका छन्।

यद्यपि समितिको निर्णयपछि भएका हिंसात्मक प्रदर्शनहरुको ब्राउनको परिवारका सदस्यहरुले निन्दा गरेका छन्।

तस्वीर कपीराइट AFP
Image caption थप हिंसा हुन सक्ने भन्दै सुरक्षा तैनाथी बढाइएको बताइएको छ

ब्राउनको परिवारका एकजना वकिल बेन्जामिन क्रम्पले समितिको प्रक्रिया उचित नभएको बताए।

उनले भने, “समितिको प्रक्रिया एकदमै गलत थियो। माइकल ब्राउनको परिवारको तर्फबाट जसरी हुन्छ, हामी त्यसको विरोध गर्दछौं।”

फेर्गुसनका मेयर जेम्स नोल्सले मंगलबार सांझ थप झडपहरु हुन सक्ने खतरा रहेको बताए।

हिंसात्मक

नेशनल गार्डहरुलाई ढिलो गरी पठाइएकोमा उनले आलोचना गरे।

तनाव चुलिन सक्ने आशंकामा सांझसम्म थप सुरक्षाकर्मीहरु परिचालन गर्न लागिएको अधिकारीहरुले बताएका छन्।

मिजोरीका गभर्नर जे निक्सनले सेन्ट लुइस क्षेत्रमा मंगलबार २२ सयभन्दा बढी नेशनल गार्डहरु तैनाथ गरिने बताए।

सोमबार राति झण्डै ७ सय नेशनल गार्डहरु परिचालित भएपनि दर्जनौं घरहरुमा आगजनी गर्नबाट प्रदर्शनकारीहरुलाई रोक्न सकेनन्।

एक जना प्रहरी प्रमुखले समितिको निर्णयपछि भएका हिंसात्मक प्रदर्शनहरु फेर्गुसनमा अहिलेसम्मकै नराम्रो भएको बताए।

अधिकारीहरुका अनुसार ८० जनाभन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको छ। तीमध्ये सेन्ट लुइसबाट पक्राउ पर्नेहरु ६१ जना भएको अधिकारीहरुले बताएका छन्।