‘गोली काण्डः मुद्दा नचलाउने निर्णयबाट आहत’

  • 27 नोभेम्बर 2014
तस्वीर कपीराइट BBC World Service
Image caption माइकल ब्राउनका बुवाले आफ्नो छोरा हिंसात्मक गतिविधमा संलग्न नहुने गरेको बताएकी छन्

गोरा जातिका प्रहरीले चलाएको गोलीबाट तीन महिनाअघि मारिएका अश्वेत युवक माइकल ब्राउनको परिवारका सदस्यहरुले उनीविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णयबाट आफूहरु आहत भएको बताएका छन्।

ब्राउनका बुवाले आफ्नो छोराको चरित्र हत्या गरिएको बताए।

ब्राउनकी आमाले गोली चलाउने प्रहरी अधिकारी डर्रेन विल्सन अनादर गर्ने मानिस भएको बताइन्।

मिजोरीको फर्गुसनमा गत अगस्टमा गोली हानी ब्राउनको हत्या गरेका विल्सनले आफ्नो चरित्र सफा रहेको अमेरिकी सञ्चारमाध्यमहरुलाई बताएका छन्।

तनाव

विल्सनविरुद्ध मुद्दा चलाउन नपर्ने एउटा समितिको निर्णयपछि मंगलबार राति अमेरिकाका १३ वटा सहरहरुमा प्रदर्शन भएका छन्।

फर्गुसनमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप हुँदा केही तनाव भएको थियो।

प्रदर्शनकारीहरुले प्रहरीको एउटा कारमा आगजनी गरेका छन्।

यद्यपि सोमबारको तुलनामा मंगलबार सुरक्षा अवस्था राम्रो रहेको प्रहरीले जनाएको छ।

तस्वीर कपीराइट Getty
Image caption फर्गुसनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा तनाव उत्पन्न भएको बताइएको छ

४२ जना प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोमबार राति प्रदर्शनकारीहरुले दर्जनौं कार र घरहरुमा आगजनी गरेका थिए।

अवरोध

सोमबार ७ सय नेशनल गार्डहरु परिचालन गरिएकोमा मंगलबार राति झण्डै २ हजार परिचालन गरिएका थिए।

मिजोरीका गभर्नर जे निक्सनले नेशनल गार्डहरुको उपस्थिति सहयोगी साबित भएको भन्दै थप नेशनल गार्डहरु परिचालन गर्नुपर्ने वा नपर्ने विषयमा स्थितिको अध्ययन गरिने बताएका छन्।

उक्त क्षेत्रमा बुधबार पनि प्रदर्शनहरु जारी छन्।

सेन्ट लुइस सभागृह अगाडि भेला भएका करिब २ सय प्रदर्शनकारीहरुले विल्सनविरुद्ध मुद्दा चलाइएको नाटकीय प्रदर्शन गरेका छन्।

समाचार संस्था एपीका अनुसार, नाराबाजी गर्दै केही प्रदर्शनकारीहरुले सभागृहमा प्रवेश गर्न खोजेपछि प्रहरीले अवरोध खडा गर्नुपरेको थियो।