‘क्षेत्रीय सहकार्यलाई तीव्रता दिन्छौं’

  • 27 नोभेम्बर 2014
saarc
Image caption बिहीबार मोदी र सरिफले हात मिलाएको दृश्यले धेरैको ध्यान खिचेको थियो

व्यापार, वित्त, लगानी, उर्जा लगायतका क्षेत्रमा आपसी सहकार्यलाई तीव्रता दिने प्रतिबद्धतासहित ३६ बुंदे घोषणापत्र जारी गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औ शिखर सम्मेलन बिहीबार काठमाण्डूमा सकिएको छ।

यातायात सञ्जाल विस्तार, संरचना निर्माण, गरीबी निवारण तथा आतंकवाद जस्ता मुद्दामा संयुक्त रुपमा अघि बढ्ने प्रतिबद्धता पनि सार्कका आठैवटा सदस्य मुलुकका सरकार तथा राष्ट्रप्रमुखहरुले जनाएका छन्।

आयोजक मुलुक नेपालले सम्मेलन सफल भएको टिप्पणी गर्दै सदस्य मुलुकहरुबीच थप विश्वासको सम्बन्ध विस्तार गर्न सम्मेलन सहायक भएको जनाएको छ।

सफल

घोषणापत्र जारी गरे लगत्तै सञ्चारकर्मीहरुमाझ निकै हँसिलो मुद्रामा प्रस्तुत भएका प्रधानमन्त्री सुशील कोइरालाले यो शिखर सम्मेलन उपलब्धिपूर्ण भएको भन्दै त्यसमा शंका नगर्न आग्रह गरे।

उनले भने , “सबैजना सन्तुष्ट हुनुहुन्छ र यो शिखर सम्मेलन सफल भएको छ। यसमा कसैले आशंका गर्नुपर्ने मैले ठानेको छैन”।

दुई ठूला सदस्य मुलुकहरु भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धको छाया सार्कमा पर्दा त्यसले अपेक्षित सफलता हासिल गर्न नसकेको टिप्पणी यो शिखर सम्मेलनका क्रममा पनि सुनिएका थिए।

समापन समारोहमा हात मिलाउने औपचारिकताबाहेक उनीहरुले अन्य सरकार तथा राष्ट्रप्रमुखसंग गरेको जस्तै दुईपक्षीय भेटवार्ता समेत गरेनन्।

तर यो शिखर सम्मेलनले त्यस्ता अविश्वास हटाउन मद्दत गरेको संकेत गर्दै प्रधानमन्त्री कोइरालाले भने, "यो सम्मेलनपछि एक अर्काबीच विश्वास र समझदारी कायम हुने विश्वास दिलाउन चाहन्छु"।

निरन्तरता

सार्क घोषणापत्रमा खुला व्यापार क्षेत्रको प्रक्रियालाई गति दिने, सार्क विकास कोषलाई बलियो बनाउने, दक्षिण एसियालाई गरीबी र भोक मुक्त बनाउन प्रभावकारी काम थाल्ने भन्ने जस्तै विषय पनि परेका छन् जुन अघिल्ला सम्मेलनको घोषणापत्रकै निरन्तरता जस्तो देखिन्छ।

सार्क बडापत्रमा परिकल्पना गरिएजस्तै शिखर सम्मेलन प्रत्येक वर्ष गर्न नसकेका सार्कका सदस्य मुलुकहरुले यसपटकदेखि दुई वर्षको अन्तरालमा त्यस्तो सम्मेलन गर्ने सहमति जुटाएका छन्।

अर्को शिखर सम्मेलन पाकिस्तानको इस्लामावाद गर्ने निर्णय पनि उनीहरुले गरेका छन्।