सार्क विश्वविद्यालय संघर्षरत

  • 28 नोभेम्बर 2014

फणिन्द्र दाहाल

सम्वाददाता, बीबीसी नेपाली सेवा

तस्वीर कपीराइट Getty
Image caption मोदीले दक्षिण एशियाली विश्वविद्यालयले प्रत्येक सार्क राष्ट्रका विश्वविद्यालयसँग साझेदारी गर्नुपर्ने बताए

झन्डै साढे चार वर्ष अघि दिल्लीमा स्थापना गरिएको दक्षिण एशियाली विश्वविद्यालय शुरुमा परिकल्पना गरिए जस्तै विश्वस्तरीय शिक्षण संस्था बन्ने तर्फ अझै अघि बढ्न नसकेको बताइन्छ।

भौतिक पूर्वाधार र सेवा सुविधाको अभावमा विश्वविद्यालयले सार्क राष्ट्रका उत्कृष्ट विद्यार्थी र अनुभवी प्राध्यापकहरुलाई आकर्षण गर्न अझै नसकिरहेको जानकारहरुको मत छ।

बुधवार सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त विश्वविद्यालय र सबै सार्क मुलुकका कम्तीमा एउटा विश्वविद्यालयसंग साझेदारी गर्दै अघि बढ्नुपर्ने बताए।

विभिन्न ६ संकायमा विद्यावारिधि सहित १४ वटा कार्यक्रम चलाइरहेको विश्वविद्यालयका कक्षा र आवास दुवै भारतले उपलब्ध गराएको एउटा भवनमा सञ्चालित छन्।

अप्ठेरा

सन् २००५ मा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले ढाकामा भएको सार्क शिखर सम्मेलनमा दक्षिण एशियाली विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेका थिए।

२०१० मा थिम्पुमा भएको १५ औं सार्क सम्मेलनपछि दिल्लीमा सञ्चालनमा आएको विश्वविद्यालय अझै पनि आफ्नो अलग्गै पहिचान स्थापना गर्न संघर्षरत रहेको धेरैको मत छ।

चितवनका मनोज ढकाल दक्षिण एशियाली विश्वविद्यालयमा समाजशास्त्र संकायमा विद्यावारिधि गर्दैछन्।

उनी भन्छन्, भौतिक पूर्वाधारको अभाव र दिल्लीको महंगो मध्ये एक मानिने चाणक्यपुरी क्षेत्रमा विश्वविद्यालयको भवन रहेकाले विद्यार्थीहरुले समस्या झेल्नुपरिरहेको छ।

उनी भन्छन्, “एउटै भवनमा बस्ने अनि पढ्ने ठाउँ छ। दिल्लीमा राजदुतावासका भवनहरु भएको क्षेत्रमा विश्वविद्यालय हुँदा विद्यार्थीहरुको खर्च बढ्ने गरेको छ।"

कोटा

तस्वीर कपीराइट AP
Image caption थिम्पुमा भएको सार्क सम्मेलनपछि विश्वविद्यालय सञ्चालनमा आएको हो

हाल दक्षिण एशियाली विश्वविद्यालयमा विद्यावारिधिका ७० जना विद्यार्थी सहित झन्डै साढे चार सय विद्यार्थी अध्ययनरत छन्।

विद्यार्थीको भर्ना गर्दा कुल संख्याको ५० प्रतिशत कोटा भारतलाई, १०-१० प्रतिशत पाकिस्तान र बंगलादेशलाई र बांकी ५ देशहरुमध्ये प्रत्येकलाई ४ प्रतिशत छुट्याइएको छ।

तर अहिले संञ्चालनमा रहेका कतिपय कार्यक्रमहरुमा माल्दिभ्स, भुटान, श्रीलंका, पाकिस्तान र अफ्गानिस्तानका विद्यार्थीहरुको उपस्थिती निक्कै न्युन रहेको विश्वविद्यालयको आँकडाले देखाउँछ।

दक्षिण एशियाली विश्वविद्यालय स्थापना गर्ने क्रममा गरिएको समझदारीपत्रमा विद्यार्थी तथा प्राध्यापकहरुकालागि सहज भिसा र आवासीय व्यवस्था मिलाउने प्रतिबद्धता गरिएको थियो।

तर अझै पनि भारतको भिसा पाउन झन्झटको सामना गर्नुपरिरहेको कम्प्युटर साइन्समा विद्यावारिधि गरिरहेका बंगालादेशका विद्यार्थी महमुदुल हसनले बताए।

“शुरुमा नै दक्षिण एशियाली विश्वविद्यालयका लागी विशेष प्रकारको भिसा दिने बताइएको थियो तर अझै पनि त्यसखालको भिसा पाउन विद्यार्थीहरुले कुनै सहजता महसुस गरिरहेका छैनन्।"

उनले आफूले सीमित पटक आवत जावत गर्न पाउने गरि एक वर्षको मात्र भिसा पाएको बताए।

समावेशी

बेला बेलामा देखिने भिसाको समस्या बाहेक विश्वविद्यालयमा काम गरेका पाकिस्तानी प्राध्यापकले दिल्लीमा बैंक खाता समेत खोल्न नपाएको कटु अनुभव सहित विश्वविद्यालय छाडेको बुझिन्छ।

दक्षिण एशियाली विश्वविद्यालयमा अहिले अधिकांश भारतीय र औंलामा गन्न सकिने संख्यामा नेपाल, बंगलादेश र श्रीलंका गरी ४ सार्क मुलुकका प्राध्यापकहरु छन्।

अस्थायी प्रकृतिको करारमा नियुक्त गरिने हुँदा विश्वविद्यालयले क्षेत्रिय स्तरका उत्कृष्ट प्राज्ञहरुलाई अझै आकर्षण गर्न नसकिरहेको दक्षिण एशियाली विश्वविद्यालयका फ्याकल्टि एशोसियसनका महासचिव तथा कानुन संकायका प्रमुख श्रीनिवास बुर्राले बताए।

“भुटान, मालदिभ्स, पाकिस्तान र अफगानिस्तानबाट हामीसँग अहिले कोही पनि प्राध्यापकहरु छैनन्, विश्वविद्यालयले दक्षिण एशियाका उत्कृष्ट प्रतिभाहरुलाई आकर्षण गर्न अझै धेरै गर्नुछ, त्यसो गर्नु निक्कै महत्वपूर्ण छ नत्र भने यो अरु भारतीय विश्वविद्यालय जस्तै बन्छ जुन वास्तविक रुपमा हुनुहुँदैँन।”

प्राध्यापकहरुलाई स्थायी प्रकृतिको नियुक्ति दिने विषय सबै सार्क राष्ट्रका प्रतिनिधि सम्मिलित विश्वविद्यालयको गभर्निङ बोर्डमा छलफलमा रहेको बताइन्छ।

सन्तुष्ट

विभिन्न स्तरबाट गुनासो व्यक्त भएपनि दक्षिण एशियाली विश्वविद्यालयका पदाधिकारी ४ वर्षकै कलिलो उमेरमा आफूहरुले हासिल गरेको प्रगति प्रति सन्तुष्ट रहेको बताउँछन्।

उनीहरुका भनाईमा, विश्वविद्यालयमा प्रत्येक वर्ष आवेदन दिने विद्यार्थीहरुको संख्या १० देखि १५ प्रतिशतले बढीरहेको छ भने विश्वविद्यालयमा झन्डै साढे चार करोड भारतीय रुपैँया बराबरको अनुसन्धानका कामहरु आएका छन्।

विश्वविद्यालयकी नवनियुक्त अध्यक्ष कविता शर्मा भन्छिन विश्वविद्यालयलाई पुवार्धारसम्पन्न बनाउन र सबै सार्क राष्ट्रका विद्यार्थीहरु आकर्षण गर्नु उनको पहिलो प्राथमिक्ता हुनेछ।

उनी भन्छिन् “तपाईलाई थाहै छ, हामीसँग निक्कै महत्वाकांक्षी शैक्षिक मुद्दाहरु छन् जुन हामीले पूर्वाधारको अभावमा पूरा गर्नसक्दैनौँ, त्यही भएर त्यसलाई अघि बढाउन म लागि परेकी छु।"

दक्षिण एशियाली विश्ववविद्यालयमा दक्षिण एशियाको सुगन्ध हुनुपर्ने भन्दै उनले यस क्षेत्रमा रहेका विश्वविद्यालयहरुसँग अन्तर्क्रिया बढाउन चाहेको बताइन्।

लगानी

विश्वविद्यालय खोल्ने समझदारी हुँदा नै आवश्यक भवन, जग्गा र अन्य संरचना उपलब्ध गराउने प्रतिवद्धता भारतले गरेको थियो।

पहिले सन् २०१५ सम्ममा आफ्नो अलग्गै भवन बनाइसक्ने बताइएको भएपनि अहिले सन् २०१७ सम्म त्यसलाई पूरा गरिसक्ने लक्ष्य लिइएको अधिकारीहरु बताउँछन्।

सबै सार्क राष्ट्रले विश्वविद्यालयको सञ्चालनको लागि लगानी गरिरहेका छन्।

तर सार्क देशका अधिकारीहरुले विश्वविद्यालयमा देखिएका समस्याहरुका बारेमा आफूहरुसँग खासै अन्तरक्रिया गर्ने नगरेको विद्यार्थी र प्राध्यापकहरुले बताएका छन्।