'सार्कमा गरिएको सजावट बिग्रिन नदिइने'

  • 29 नोभेम्बर 2014
Image caption सार्कमा गरिएको पुनर्निर्माण र सजावट नष्ट हुने चिन्ताका माझ सरकारले अग्रसरता लिएको छ

१८ औं दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्क शिखर सम्मेलनका लागि काठमाडौंमा बनाइएका संरचना र गरिएको सजावट दिगो बनाउन प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ।

सार्क तयारीका क्रममा बनाइएका पूर्वाधारहरुको मर्मत सम्हारलाई नराखे गरिएको ठूलो खर्च निरर्थक हुने भन्दै सम्बन्धित निकायको कामलाई अनुगमनसमेत गर्ने बताइएको छ।

सार्क सम्मेलन अगाडि दिनरात नभनि काठमाडौंका विभिन्न स्थानमा बनाइएको पार्क, सडक र गरिएका रंगरोगन तथा रोपिएका रुखविरुवा धेरै दिन नटिक्ने अड्कलबाजी भइरहँदा सरकारले त्यसको सम्बर्धन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

करिब दुइ अर्ब खर्च गरेर गरिएको कामलाई निरन्तर व्यवस्थित र अनुगमन नगरे त्यसलाई टिकाउन नसकिने भन्दै निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले बताए।

सुझाव

उनले भने, "अहिले निर्माण, मर्मत र सुन्दरता कायम राख्न जुन जुन निकायले जे जे काम गरेका हुन् तिनीहरुलाई हामीले निर्देशन दिएका हौं र त्यसको अनुगमन पनि हुन्छ।"

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाहेक अन्य सभा गर्ने स्थान नभएको बेला स्तरोन्नति गरिएको ‍राष्ट्रिय सभागृहलाई अब नेपालमा हुने अन्य अन्तराष्ट्रिय सभासम्मेलनका लागि प्रयोग गर्न सकिने विषयमा अध्ययन गर्न कार्यदल पनि गठन गरिएको छ।

उक्त कार्यदलले गर्ने कामबारे सचिव सुवेदीले भने, "अागामी दिनमा अन्तर्राष्ट्रियस्तरका सभासम्मेलन सभागृहमै गर्न अहिले भएका कामलाई दिगो कसरी राख्ने भन्ने विषयमा कार्यदलले सुझाव दिने छ।"

सम्मेलन लगत्तै बाटोमा रोपिएका फुलविरुवा कुल्चने, उखेल्ने काम हुन थालेको भन्दै सहरबासी आफैँले पनि काठमाडौंको सुन्दरता कायम राख्नुपर्नेमा सरकारले सबैको ध्यानाकर्षण गराएको छ।