मुबारक विरुद्धका मुद्दा खारेज

  • 29 नोभेम्बर 2014
मुबारक तस्वीर कपीराइट EPA
Image caption मुबारकलाई दुई वर्ष अघि एउटा अदालतले दोषी ठहराउँदै आजीवन कारावासको सजाय सुनाएको थियो

इजिप्टको एक अदालतले भूतपूर्व राष्ट्रपति होस्नी मुबारक विरुद्ध सन् २०११ मा भएको अरब विद्रोहका क्रममा सैयौं प्रदर्शनकारीहरुको हत्याका लागि जिम्मेवार रहेको भन्ने अभियोगहरुलाई खारेज गरीदिएको छ।

मुबारकका धेरैजसो वरिष्ठ सुरक्षा अधिकारीहरुविरुद्ध लगाइएका मुद्दाहरुपनि खारेज गरिएको छ।

मुबारकलाई दुई वर्ष अघि एउटा अदालतले दोषी ठहराउँदै आजीवन कारावासको सजाय सुनाएको थियो।

तर पछि प्राविधिक आधारमा ती अभियोगहरुमा पुन: सुनुवाइ गर्न आदेश दिइएको थियो।

तर मुबारक अझै रिहा भैसकेका छैनन्।

थुना

उनले सरकारी रकम अपचलन गरेको भन्ने एक छुट्टै मुद्दामा थप केही महिना थुनामा रहनुपर्ने हुनसक्छ।

कायरोस्थित अदालतमा न्यायाधीशले फैसला सुनाएपछि भूतपूर्व राष्ट्रपति मुबारकका समर्थकहरुले खुसियाली मनाएका थिए।

उनीहरुले मुबारकलाई एकजना राष्ट्रिय नायक भन्दै उनी विरुद्धका मुद्दा आधारहीन भएको बताउँदै आएका थिए।

मुबारक विरुद्ध झण्डै चार बर्ष अघि 'अरब वसन्त' पनि भनिने जनविद्रोहका क्रममा २३९ जना प्रदर्शनकारीहरुको ज्यान लिएको घटनालाई लिएर अभियोगहरु लगाइएको थियो।

छयासी वर्षीय मुबारकले सरकारी कोष अपचलन गरेको भन्ने एक छुटुटै मु्द्दामा दोषी ठहराइएपछि तीन वर्षको जेल सजाय भोगी रहेका छन्।

कायरोस्थित बीबीसीकी संवाददाता भन्छिन्, अदालतबाहिर प्रहरीले अवरोधहरु तेर्साइ मुबारक समर्थक तथा विरोधीहरुलाई अलग अलग राखेका थिए।

मुबारक विरोधी प्रदर्शनमा मारिएका परिवारका सदस्यहरुले उनलाई फाँसी दिइनुपर्ने माग गरिरहेका थिए।

तर मुबारकलाई सफाइ दिइएको समाचार सुनेपछि एकजना व्यक्ति सडकमै थचक्क बसे र आफ्नै हातले आफ्नो टाउकोमा प्रहार गर्न थाले।

दोषी

अदालतको फैसला पछि सन् २०११ को जनक्रान्तिका क्रममा आठसय भन्दा बढी प्रदर्शनकारीहरुको ज्यान गएको घटनाकालागि कोही पनि दोषी ठहरिने छैनन्।

ती प्रदर्शनका क्रममा आफ्नी श्रीमती गुमाएका महमुद इब्राहिम अलीले भने, "सत्ता उही हो। नाम फेरिएको छ, तर सबैचीज उस्तै छ।"

जुलाई २०१३ मा सरकारविरोधी प्रदर्शनहरु पछि इजिप्टको सेनाले निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीलाई सत्ताच्युत गरेको थियो।

संवाददाताहरु भन्छन्, त्यसपछि राष्ट्रपति चुनिएका जनरल अब्दुल फतह अल सिसिको शासनकालमा टेलिभिजन तथा समाचारपत्रहरुमा मुबारकको शासनकालको खासै आलोचना गरेको देखिंदैन।