काबुलका प्रहरी प्रमुखद्वारा राजीनामा

  • 30 नोभेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption बिहीबार भएको आक्रमणमा ब्रिटिश दुतावासका दुईजना कर्मचारी मारिएका थिए।

अफगानिस्तानको राजधानी काबुलका प्रहरी प्रमुखले पदबाट राजीनामा दिएका छन्।

पछिल्ला साताहरुमा ठूला व्यक्तिहरु लक्षित आक्रमणहरुमा वृद्धि भएपछि प्रहरी प्रमुखले राजीनामा दिएका हुन्।

जनरल जाहिर जाहिरले राजीनामा दिनुको कुनै कारण नखुलाएको उनका प्रवक्ताले बताएका छन्।

विदेशी सहायताकर्मीहरुले प्रयोग गर्दै आएको एउटा गेस्ट हाउसको कम्पाउण्डमा प्रवेश गरी लडाकूहरुले आक्रमण गर्दा तीनजना दक्षिण अफ्रिकीहरु मारिएका छन्।

आक्रमण

उनीहरु एउटै परिवारका भएको अधिकारीहरुले बताएका छन्।

मृत्यु हुनेहरुमा शिक्षासम्बन्धी एउटा परोपकारी संस्थाका प्रमुख र उनका छोराछोरी रहेका छन्।

उनीहरु बाहेक एकजना अफगान नागरिक पनि मारिएका छन्।

पछिल्ला १० दिनमा यस्तो प्रकृतिको आक्रमण गरिएको यो तेस्रो घटना हो।

तालिबान विद्रोहीले आक्रमणको जिम्मेवारी लिएको छ।

उत्तर एट्लान्टिक सन्धी संगठन नेटोले अफगानिस्तानमा आफ्नो सैन्य भूमिका अन्त्य गर्ने तयारी गरिरहँदा त्यहाँ हिंसामा वृद्धि भएको देखिएको छ।

काबुलका प्रहरी प्रमुख जाहिरलाई नै लक्षित गरी यसै महिनाको सुरुतिर आक्रमण गराइएको थियो।

तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति असरफ गनीले आइतबार राति राष्ट्रको नाममा टेलिभिजनमार्फत सम्बोधन गर्ने बताइएको छ

निकै सुरक्षित ठानिने स्थानमा रहेको उनको कार्यालयमा एकजना आत्मघाती आक्रमणकारीले विष्फोट गराएका थिए।

कारबाही

उक्त आक्रमणमा उप-प्रहरी प्रमुख मारिएका थिए।

आक्रमणका बेला जाहिर कार्यालयमा थिएनन्।

काबुलमा यसै साता गराइएका आक्रमणहरुमा सोमबार दुईजना अमेरिकी सैनिक र बिहिबार ब्रिटिस दुतावासका दुईजना कर्मचारी मारिएका थिए।

ती आक्रमणमा कैयौ अफगान नागरिकहरु पनि मारिएका थिए। कैयौं घाईते भएका थिए।

अफगान सेना, प्रहरी र सरकारी कर्मचारीहरुलाई लक्षित गरी तालिबान लडाकूहरुले काबुलमा नियमित जसो आक्रमण गर्दै आएका छन्।

ब्रिटिस फौजले खाली गरेको एक महिनापछि यसै साता तालिबान लडाकूहरुले हेलमन्ड प्रान्तस्थित एउटा क्याम्पमा आक्रमण गरेका थिए।

सेनाले बिहिबार अबेर राति लडाकूहरु विरुद्ध कारवाही सुरु गरेको थियो। उक्त कारवाही शुक्रबार र शनिबार जारी रह्यो।

तारबार हटाई ब्यारेकभित्र लडाकूहरुले शुक्रबार गरेको आक्रमणमा पाँचजना सैनिक मारिएका थिए।

सेनाका अनुसार, उक्त आक्रमणमा २८ जना लडाकूहरु पनि मारिएका थिए।

हेलमन्ड प्रान्तको संगिनमा आइतबार गरिएको छुट्टै आक्रमणमा १२ जना सैनिक मारिएको अधिकारीहरुले बताएका छन्।