फोरम नेपालद्वारा नौ प्रदेशको प्रस्ताव पेश

  • 30 नोभेम्बर 2014
तस्वीर कपीराइट Surendra Phuyal
Image caption संवाद समितिको बैठक अन्यौलमा पर्दा मस्यौदा समितिको कार्यतालिका प्रभावित भइरहेको छ

विपक्षी मोर्चाको एउटा दल मधेसी जनअधिकार फोरमले संविधानका विवादित विषयबारे नौ प्रदेशसहितको नयाँ प्रस्ताव संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पेश गरेको छ।

सत्ताधारी दलहरु नेपाली कांग्रेस, नेकपा एमालेलगायतका तर्फबाट साझा अवधारणा पेश गरेपछि विवादित बनिरहेको संवाद समितिमा विपक्षी मोर्चाकै एउटा दलले नयाँ प्रस्ताव पेश गरेको हो।

तर लामो समयपछि बसेको संवाद समितिको बैठक भने पुन: निष्कर्षविहीन भन्दै मंसिर १७ गतेका लागि सरेको छ।

सत्ताधारी दलहरुको प्रस्तावलाई संविधानसभामा कसरी पठाउने भन्ने विषयमा निधो हुन नसकेको बेला आइतबार नै विपक्षी मोर्चाको एक घटक मधेशी जनअधिकार फोरम नेपालले तराईमा एक सहित नौ प्रदेशको संघीय ढाँचा रहेको एक छुट्टै प्रस्ताव संवाद समितिमा पेश गरेको हो।

प्रस्ताव

यसरी पेश गरेको आफ्नो प्रस्ताव समितिमार्फत संविधानसभामा जानुपर्ने उक्त दलको भनाई छ।

दलका अध्यक्ष उपेन्द्र यादवले भने, "आएका प्रस्तावहरुलाई सँगै गरेर छलफलका लागि संविधानसभामा पठाउनुपर्छ, छलफलका विषय आएका सबै प्रस्ताव बन्नुपर्छ।"

दलहरुको यिनै अडानका कारण कार्तिकको १६ गते संविधानसभामा बुझाउनुपर्ने प्रतिवेदन संवाद समितिले तोकिएको समयभन्दा झन्डै एक महिना बढी समय बित्न लागिसक्दा सम्म पनि बुझाउन सकिरहेको छैन।

जसका कारण संविधानसभाको पुर्ण बैठक समेत बस्न पाएको छैन।

मुख्य दलहरुका बीचमा कुनै सहमति जुट्न नसकेको भन्दै सार्क सम्मेलनयता आइतबार पहिलोपटक बसेको संवाद समितिको बैठक फेरि पर सारिएको छ।

सत्ताधारी दलहरुको प्रस्तावले विवाद चर्काएको बेला आइतबार नै विपक्षी गठबन्धनको मधेशी जनअधिकार फोरम नेपालले आफ्नो छुट्टै प्रस्ताव समितिमा पेश गरेको छ।

दलहरुबीच समझदारी कायम गर्न भन्दै बसेको राजनीतिक संयन्त्रको बैठक पनि सहमति जुटाउन छलफलहरुलाई निरन्तरता दिने भन्दै सकिएको थियो।

निष्कर्षविहीन

निकै दिनको प्रतिक्षापछि बसेको आइतबारको संवाद समितिको बैठकमा समितिका सभापति बाबुराम भटराईले दलहरुका बिचमा भएका पछिल्ला बैठकहरु र त्यसमा भएका प्रगतिका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराएका थिए।

दलहरुबीच भएका बैठकहरुमा हालसम्म ठोस सहमति नजुटी सकेको र शीर्ष नेताहरुले अझै केही दिनसम्म छलफलका लागि समय मागेको भन्दै सभापतिले बैठक केही दिनका लागि सार्ने निर्णय गरेको कांग्रेस सह महामन्त्री पुर्णबहादुर खडकाले बताए।

उनले भने "सभापतिकै भनाई अनुसार शीर्ष नेताहरुले चार पाँच दिनमा हामी सहमति गर्छौ, समय दिनुपर्यो भन्नुभएको छ, त्यसैले समय दिउँ भनेर बैठक स्थगित गर्नु भयो।"

संवाद समितिलाई सजिलो पार्ने भन्दै बिहान बसेको राजनीतिक संयन्त्रको बैठकमा दलहरुका बीचको दूरीलाई घटाउने विषयमा छलफल भए पनि कुनै सहमतिमा भने पुग्न सकेन।

उक्त बैठक दलहरु बीचको छलफललाई निरन्तरता दिने भन्दै सकिएको एमाओवादी उपाअध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, "गतिरोध कसरी अन्त्य गर्ने पार्टीहरुका बीचमा राजनितिक समझदारी कसरी बनाउने भनेर छलफल गर्यौं तर छलफलमा सहमति बनेन अब छलफल जारी राख्ने भनेर उठ्यौं।"

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरुले संवाद समितिमा साझा प्रस्ताव लगेको दिन देखि दलहरु बीचमा दूरी बढेको थियो।