चन्द नेतृत्वमा नयाँ माओवादी पार्टी

  • 1 डिसेम्बर 2014
Image caption बैद्यसँग रुष्ट भएर छुट्टिएको चन्द नेतृत्वको माउ पार्टी एमाओवादीसँगको सम्बन्ध अब कसरी अघि बढ्ला भन्नेमा धेरैको चासो देखिन्छ।

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी पार्टीको असन्तुष्ट खेमाले औपचारिक रुपमा नयां पार्टी गठनको घोषणा गरेको छ।

काठमाण्डूमा सोमबार पत्रकार सम्मेलन गरी नेत्र विक्रम चन्द नेतृत्वको उक्त खेमाले माओवादीको सशस्त्र युद्धको अपेक्षा विपरित राजनीतिक प्रक्रिया अघि बढिरहेको भन्दै आफूहरुले पछिल्लो कदम चाल्नु ऐतिहासिक आवश्यकता भएको बताएको छ।

घोषणा कार्यक्रममा चन्दले मुख्य सत्तारुढ दलहरुविरुद्ध संघर्षमा उत्रिने चेतावनी त दिए, तर यसअघि चर्चामा आएजस्तो फेरि सशस्त्र संघर्ष थाल्ने योजनाबारे भने प्रष्ट जवाफ दिएनन्।

माउपार्टी एकीकृत माओवादीबाट मोहन वैद्यसहितका नेताहरुसंगै छुट्टिएर गएका चन्दले त्यसको करीब साढे दुई वर्ष नबित्दै आफ्नो नेतृत्वमा नयां पार्टी गठन गरेका छन्।

आक्रामक

वैद्यको नेतृत्वप्रति चरम असन्तुष्टि पोख्दै गत साता सम्बन्ध विच्छेदको घोषणा गरेका चन्द पत्रकार सम्मेलनका क्रममा आफ्नो पुरानो नेतृत्वकर्ताप्रति भने त्यति रुष्ट देखिएनन् जति उनी सत्तारुढ घटकहरु कांग्रेस र एमालेमाथि आक्रमक देखिन्थे।

चन्द नेतृत्वको असन्तुष्ट खेमाले पार्टीको नाम पनि वैद्य नेतृत्वको पार्टीको नाममा रहेको धर्को हटाएर नेकपा माओवादी राखेको छ।

माओवादीको सशस्त्र युद्धको अपेक्षा विपरित अहिले राजनीतिक प्रक्रिया अघि बढिरहेको भन्दै नयां पार्टी गठनको औचित्य पुष्टि गर्न खोज्दै गर्दा चन्दले नवगठित पार्टीले सशस्त्र संघर्ष थाल्न सक्ने आशंका व्यक्त गरे।

उनले भने, "हामीले युद्ध चाहेका छैनौं, हामीलाई मात्रै जनताको अधिकार र देशको स्वाधीनता चाहिएको छ। त्यसका लागि यो देशमा बलिदान गर्नुपर्छ भने हामी तयार छौं।"

सशस्त्र संघर्षबारे उनले प्रष्ट रुपमा मुख नखोलेपनि उनको नवगठित पार्टीले जारी गरेको वक्त्व्यमा भने आफूहरुले फेरि हतियार बोक्न लागेको भन्ने विषय भ्रामक भएको उल्लेख गरिएको छ।

तर चन्दले आफूहरुमाथि राज्य कसरी प्रस्तुत हुन्छ त्यही अनुसार रणनीति बनाउने भन्दै सशस्त्र संघर्षको सम्भावना पूर्ण रुपमा अस्वीकार भने गरेनन्।

उनले भने, "मान्छेको दिमागमा बन्दुक चढ्यो भने नि जुनबेला पनि आइपुग्छ त्यो त्यसैले अहिलेको विश्वमा त्यसको अभावको महसुस नगर्नुस्।"

आंकलन

झण्डै दुई दशकअघि माओवादी सशस्त्र द्वन्द्व शुरु हुंदा उठाइएका केही मागहरु नवगठित पार्टीको घोषणासभामा पनि उठाइएका थिए।

मूलधारका भनिएका पार्टीहरु कांग्रेस-एमाले, चन्दसहितका नेताहरुको आक्रोशको तारो बनेका थिए भने वक्तव्यमा भारतसंग गरिएको सन् १९५० को सन्धि तथा पछिल्ला विद्युत सम्झौताहरु खारेजीको माग गरिएको थियो।

तर कतिपयले परिस्थिति अहिले निकै बदिलएको भन्दै फेरि सशस्त्र संघर्षको सम्भावना नरहेको टिप्पणी गरेका छन्।

यद्यपि संविधान निर्माण प्रक्रिया अघि बढ्दै जांदा संविधानसभा बाहिर भने नवगठित पार्टीले अवरोधहरु सिर्जना गर्नसक्ने धेरैको आंकलन छ।