'इबोला फैलने खतरा उच्च'

  • 1 डिसेम्बर 2014
मृतकलाई समाधिस्थ गरिंदै तस्वीर कपीराइट EPA
Image caption एकजना राष्ट्रसंघीय अधिकारीले इबोला बाँकी विश्वमा फैलन सक्ने अझै उच्च खतरा रहेको चेतावनी दिएका छन्

पश्चिम अफ्रिकामा इबोला संक्रमण संग जु्ध्न गठित राष्ट्रसंघीय नियोगका प्रमुखले उक्त घातक विषाणु संसारका अन्य भागमा फैलन सक्ने अझै निकै उच्च खतरा रहेको जनाएका छन्।

बीबीसीसंग कुरा गर्दै टोनी बेनबेरीले भने, आफैले तोकेको म्याद भित्र उक्त भाइरस नियन्त्रण गर्ने प्रयास सफल हुन सकेन।

इबोला संक्रमणबाट अत्यन्तै प्रभावित इलाकाहरुमध्ये एक, सियरा लियोनको राजधानी फ्रिटाउन, मा बोल्दै राष्ट्रसंघीय अधिकारी बेनबेरीले राष्ट्रसंघले आफैले तोकेका लक्ष्यहरु पुरा भए वा नभएको बारे केही बताएनन्।

लक्ष्य

गत अक्टोबर महिनामा राष्ट्रसंघ सुरक्षा परिषद समक्ष बोल्दै डिसेम्बर एक तारिख सोमबारसम्ममा इबोला संक्रमितहरुमध्ये ७० प्रतिशत बिरामीहरुको उपचार गर्ने तथा ज्यान गुमाएकाहरुमध्ये ७० प्रतिशतलाई सुरक्षितरुपमा समाधिस्थ गर्ने लक्ष्य प्रस्तुत गरेका थिए।

बीबीसीसंग कुरा गर्दै उनले भने, “हामीले तोकेका लक्ष्यहरु निकै उच्च थिए जस्तो मलाई लाग्दैन। ती निकै महत्वाकांक्षी थिए। यो रोगलाई नियन्त्रणमा लिन हामीले महत्वाकांक्षी लक्ष्यहरु राख्‍नै पर्ने थियो।“

आइतबार फ्रिटाउनमा बुलडोजरहरु प्रयोग गरेर मृतकहरुलाई समाधिस्थ गर्ने नयाँ जमीन तयार गरिंदै थियो।

‌त्यहाँ पुगेका हाम्रा संवाददाता मार्क डोयल भन्छन्, मोटरहरुमा शवहरु ल्याईँदै थियो र सैयौं कामदारहरु चिहान खन्न व्यस्त थिए।

प्रतिवेदन

आफ्नो पछिल्लो प्रतिवेदनमा विश्व स्वास्थ्य संगठनले शनिबार (२९ नोभेम्बर) सम्ममा इबोला संक्रमणका कारण झण्डै सात हजार जनाको ज्यान गएको तथा १६,००० जना भन्दा बढी संक्रमित भएको जनाएको थियो।

पश्चिम अफ्रिकामा इबोला संक्रमणका कारण हरेका साता २०० देखि ३०० जनाको ज्यान गैरहेको छ।

सो संक्रमणका कारण सबैभन्दा बढी गिनी, लाइबेरिया तथा सियरा लियोन प्रभावित रहेका छन्।

टोनी बेनबेरीले बाँकी विश्वमा इबोला फैलन सक्ने अझै निकै ठूलो खतरा रहेको पनि बताए।

उनले भने, “इबोला संक्रमित व्यक्ति जहाज चढेर एसिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका वा युरोप जानसक्ने खतरा छँदैछ। त्यसैले जतिसक्दो चाँडो इबोलाबाट संक्रमित बिरामीहरुको संख्या शून्यमा झार्नु अत्यन्त जरुरी छ।“

बेनबेरीले भने, संयुक्त राष्ट्र संघ संलग्न नभएको भए स्थिति अरु गम्भीर हुनसक्ने थियो।

उनले भने, "शुरु देखि नै हामीले उपचार केन्द्रहरु खडा गर्ने, मृतकलाई सुरक्षितरुपमा समाधिस्थ गर्ने तथा समुदायलाई परिचालन गर्ने कुरामा जोड दियौं। र, त्यो रणनीतिले काम गरिरहेको छ।"

संक्रमण

विश्व स्वास्थ्य संगठनले नयाँ संक्रमणहरुमध्ये कम्तीमा २० प्रतिशत मृतकलाई समाधिस्थ गर्दा सर्ने गरेकेा जनाएको छ।

मृतककका नातेदरहरुले परम्पराअनुसार शवलाई छुने वा नुहाइदिने गर्दा त्यस्तो संक्रमण फैलिरहेको डब्लुएचओको भनाइ छ।

उक्त समस्यासंग जुध्न पुरै शरीर छोप्ने सुरक्षात्मक कपडा लगाएका स्वयमसेवीहरुलाई शवहरुलाई सुरक्षित ढंगले समाधिस्थ गर्न तालीम दिइएको छ।