हङकङमा प्रहरी-प्रदर्शनकारी झडप

  • 1 डिसेम्बर 2014
हङकङ तस्वीर कपीराइट AP
Image caption विद्यार्थी नेताहरुले प्रदर्शनलाई थप चर्काउन माग गरेका छन्

हङकङको नेतृत्व चयनमा बेइजिङको हस्तक्षेपको विरोध गरिरहेका प्रदर्शनकारीहरु र प्रहरीबीच झडपहरु भएका छन्।

प्रदर्शनकारीहरुले हङकङ सरकारको मुख्यालयलाई घेरा हाल्न खोजेपछि पछिल्लो तनाव भएको हो।

प्रहरीले प्रदर्शनकारीहरुलाई लक्षित गरि अश्रु ग्यास र लाठी प्रहार गरेको छ।

हङ्कङ्मा सरकारी मुख्यालय घेराउ गर्न खोज्ने प्रजातन्त्र पक्षधर हजारौं प्रदर्शनकारीहरुको भीडसँग प्रहरीको झडप भएको हो।

तनाव

केहि प्रदर्शनकारीहरुले प्रहरीलाई लक्षित गरि हमला गर्न थालेपछि तनाव चर्किएको र प्रहरीले अश्रु ग्यास तथा लाठी प्रहार गरेको बताइएको छ।

त्यसक्रममा प्रहरीले कम्तीमा ४० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो।

दुई महिनाअघि सुरु भएको प्रदर्शनलाई थप चर्काउन विद्यार्थी नेताहरुले माग गरेका छन्।

प्रदर्शनको क्रममा आइतबार साँझबाट छाता बोकेका प्रदर्शनकारीहरुको उपस्थिति बाक्लिन थालेको थियो।

हङकङको नेतृत्व चयनमा बेइजिङको हस्तक्षेपको अन्त्य हुनु पर्ने माग प्रदर्शनकारीहरुको छ।

बेइजिङले चाँही सन् २०१७मा हुने चुनावमा उठ्न चाहाने उम्मेदवारहरुको परिक्षण हुने बताउँदै आएको छ।

‘चुनौति’

बीबीसीका सम्वाददाता स्टीभ ज्यक्सन भन्छन्, “उनीहरु बेइजिङ्को कुनै हस्तक्षेप विना हङकङका जनताले आफ्ना नेता छान्न पाउन भन्ने चाहन्छन्।”

“दुई महिनाअघि शुरु भएको आन्दोलन चिनियाँ अधिकारीहरुको निम्ति एउटा मुख्य चुनौति बनेको छ।”

गत साता पनि हङकङको मध्यभागबाट १०० प्रदर्शनकारी प्रकाउ परेका थिए।

चर्किदो तनावका माझ आफ्नो एक संसदीय टोलीलाई छानबीन गर्नको निम्ति हङकङ प्रवेश गर्न नदिने चीनियाँ निर्णयप्रति ब्रिटेनले दु:ख प्रकट गरेको छ।