केन्यामा गृहमन्त्री र प्रहरी प्रमुख पदच्युत

  • 2 डिसेम्बर 2014
तस्वीर कपीराइट
Image caption केन्याको सिमा क्षेत्रमा सन् २०११ यता उग्रवादी समूह अल सबाबले आक्रमण गर्दै आएका छन्

सोमालियाको अल सबाब इस्लामवादीहरुले गरेको आक्रमणमा केन्याका ढुंगाखानीमा काम गर्ने ३६ जना कामदारहरु मारिएपछि केन्याका राष्ट्रपति उहुरु केन्याटाले गृहमन्त्री र प्रहरी प्रमुखलाई हटाएका छन्।

केन्याटाले राजधानी नैरोबीबाट टेलिभिजन सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।

केन्याको उत्तरपूर्वी सहर मन्डेरामा गैर मुसलमानहरुलाई गोली हान्ने र टाउको रेट्नेहरुलाई उनले पागलपशुको संज्ञा दिए।

राष्ट्रपति केन्याटाले केन्याका प्रहरी प्रमुख डेभिड किमायो र गृह मन्त्री ओले लेन्कुलाई पदबाट हटाएका हुन्।

आह्वान

राष्ट्रपतिले उनकै भनाइमा आतंकवादीविरुद्ध हुने त्यस्तो युद्ध लड्न केन्याली जनतालाई एक हुन आह्वान गरेका छन्।

त्यहाँको राष्ट्रिय टेलिभिजनमार्फत गरेको सम्बोधनमा उनले भने, "प्रिय केन्याली जनता, विधिको शासन, जनताको आस्था र स्वतन्त्रताको सम्मान गर्ने खुल्ला लोकतान्त्रिक केन्याको पक्षमा उभिने कि कुण्ठित, असहिष्णु र हत्यारा उग्रवादीहरुको समूहलाई समर्थन गर्ने भन्नेमा निर्णय लिने समय आएको छ।"

अल सबाबले केन्याको उत्तर पूर्वी सहर मन्डेराबाट १५ किलोमिटरको दुरीमा पर्ने कोर्मे भन्ने स्थानमा पालमा सुतिरहेका ढुंगा खानीमा काम गर्ने कामदारलाई सोमबारको मध्य रात आक्रमण गरेको थियो।

आक्रमणको घटना देखेका एकजना चालक अलि शिख युसुफले बीबीसीलाई बताए अनुसार कामदारहरुलाई लाइनमा राखेर उनीहरुको टाउकोमा नजिकबाट गोली हानिएको थियो।

उनका अनुसार चारजना कामदारलाई पालभित्रै टाउको रेटेर मारिएको थियो भने तीनजना मन्डेरा सहरबाट भाग्न सफल भएका थिए।

कब्जा

दश दिनअघि उत्तरपूर्वी केन्यास्थित सोमालियासँगको सिमा नजिकैको उक्त ठाउँमा अल सबाबले बसमा यात्रा गरिरहेका २८ जना गैरमुसलमानहरुलाई मारेका थिए।

केन्याले उग्रवादीहरुविरुद्ध लड्न सन् २०११ मा सिमा क्षेत्रमा आफ्ना फौज पठाएपछि अल सबाबले आफ्ना आक्रमणहरु केन्यामा केन्द्रित गरेको छ।

अघिल्लो वर्ष केन्याको केही भुभागमा अलसबाबले हमला गर्दा झन्डै ६७ जना मारिएका थिए।

त्यतिबेला चारजना हतियारधारीले राजधानी नैरोबीस्थित वेस्टगेट सपिङ मललाई आफ्नो कब्जामा लिएका थिए।