'आइएस को क्षमतामा क्षति पुगेको छ'

  • 3 डिसेम्बर 2014
जन केरी तस्वीर कपीराइट AFP
Image caption जतिसुकै समय लागेपनि आइ एस विरुद्धको कारवाही जारी रहने केरीले बताए

अमेरिकी विदेश मन्त्री जन केरीले भनेका छन्, इस्लामिक स्टेट विद्रोहीहरु विरुद्ध जति लामो समय आवश्यक भएपनि संघर्ष चालु रहने छ।

आइ एस विरुद्ध गठित अन्तर्राष्ट्रिय गठबन्धनको पहिलो उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले आइ एस गठबन्धनका सदस्य सबै साठी मुलुकका मूल मान्यतामाथिकै खतरा रहेको बताए।

आफ्ना कारवाहीले महत्वपूर्ण प्रभाव पार्न थालेको उनले जनाएका छन्।

क्षति

विदेश मन्त्री केरीले आइ एस विरुद्धको लडाईं वर्षौंसम्म चल्न सक्ने र त्यसकानिम्ति गठबन्धनले आवश्यक समय सम्म कारवाही जारी राख्ने बताए।

अमेरिकी नेतृत्वको गठबन्धनले चलाएको कारवाहीका कारण विद्रोहीहरुको क्षमतामाथि निकै क्षति पुगेको पनि उनले बताए।

उत्तर एटलान्टिक सन्धि संगठन नेटोको ब्रसेल्सस्थित मुख्यालयमा आयोजित बैठकले विदेशी लडाकुहरुलाई इराक र सिरिया जानबाट कसरी रोक्ने भन्ने बारेपनि छलफल गरेको थियो।

यसअघि अमेरिकाले सो गठबन्धनभन्दा बाहिरै रहेको इरानले पनि आइ एस विरुद्ध हवाई हमला गरेको जानकारी दिएको थियो।

तर लगत्तै तेहरानले त्यसको खण्डन ग-यो।

तालमेल

अमेरिकाले त्यस्तो हवाइ हमलाका सन्दर्भमा तेहरानसंग कुनै तालमेल नगरिएको जनाएको छ।

बीबीसीका जोनाथान मार्कस भन्छन्, इरानले हवाइ हमला गरेको भन्ने खबरहरुका सन्दर्भमा के देखिन्छ भने इरान र अमेरिका यो पुरै मुद्दामा एकै ठाउँमा नभएपनि आइएस चाहिं ती दुबै देशको साझा शत्रु हो।

इरानले सिरियाका राष्ट्रपति बशर अल असादको सत्तालाई र इराकको शिया नेतृत्वको सरकारलाई पनि समर्थन गरेको छ।

आइ एस विरुद्धको कारवाहीमा इराकलाई सैनिक सहायता दिन इराननै सबभन्दा पहिले अग्रसर भएको थियो।

हाल उक्त जेहादी संगठनले सिरिया तथा इराकको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएको छ।