रुसमा अप्ठ्यारो समय आउंदैछ: पुटिन

  • 4 डिसेम्बर 2014
putin तस्वीर कपीराइट AP
Image caption पुटिनले आफ्ना नागरिकहरुलाई आत्मानिर्भरताका लागि आह्वान गरे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरुप्रति तीव्र आक्रोश पोख्दै क्राइमियालाई रुसमा गाभ्ने र पूर्वी युक्रेनमा मस्कोले चालेको कदमको बचाउ गरेका छन्।

आफ्नो वार्षिक सम्बोधनमा उनले पश्चिमा मुलुकहरुले रुसलाई खण्डित गर्ने खोजेको भन्दै युक्रेन संकट मस्कोलाई नियन्त्रण गर्ने बहानामात्रै भएको टिप्पणी गरेका छन्।

कमजोर

राष्ट्रपति निवास क्रेमलिनमा वार्षिक सम्बोधन गर्दै पुटिनले रुसका लागि आगामी दिनहरु कठिन हुन सक्ने भन्दै आत्मनिर्भरताका लागि आह्वान गरे।

तेलको मूल्यमा तीव्र गिरावट तथा युक्रेन संकटलाई लिएर पश्चिमा मुलुकहरुले मस्कोमाथि लगाएका प्रतिवन्धहरुका कारण रुस अहिले अप्ठ्यारो स्थितिमा परेको छ।

स्थायित्वको प्रतीकका रुपमा हेरिने रुसी मुद्रा रुबलको मूल्य सन् १९९८ यताकै न्यूनतम विन्दुमा झरेको छ।

डलरको तुलनामा रुबलले पछिल्लो एक वर्षमा मात्रै ४० प्रतिशतले आफ्नो मूल्य गुमाएको छ।

सरकारले आगामी वर्ष मुलुकले आर्थिक संकट व्यहोर्न सक्ने चेतावनी पनि दिइसकेको छ।

पश्चताप

उक्त सम्बोधनमा उनले क्राइमिया गाभ्ने आफ्नो कदमप्रति कुनै पश्चताप नरहेको पनि बताए।

उनले भने, "प्रतिबन्धबारे कुरा गर्दा यो केवल युक्रेन संकट र क्राइमिया गाभ्ने विषयसंग सम्बन्धित होइन। यदि यो नभएको भएपनि पश्चिमाहरुले रुसलाई नियन्त्रण गर्ने अर्को बहाना ल्याउने थिए।"

सम्बोधनका क्रममा पुटिनले आगामी चार वर्षका लागि कर नबढाउने तथा विदेशमा रहेको रकम मुलुकभित्र ल्याउन रुसी उद्योगीहरुलाई माफी दिने घोषणा गरे।

रुसीहरुले १ सय अर्ब डलरभन्दा बढी रकम देशबाहिर जम्मा गरेको अनुमान गरिन्छ।