यमनमा दुई बन्धक मारिए

  • 6 डिसेम्बर 2014
Image caption अमेरिका सेना पुग्दा सोमर्स नराम्ररी चोट लागेको अवस्थामा भेटिएको बताइएको छ

अल कायदा विद्रोहीहरुद्धारा यमनमा बन्धक बनाएर राखिएका एकजना अमेरिकी र एक दक्षिण अफ्रिकीलाई बचाउनका निम्ति गरिएको कारवाहीका क्रममा उनीहरु मारिएका छन्।

अमेरिकी पत्रकार ल्यूक सोमर्स र एक दक्षिण अफ्रिकी सहायता कर्मी पियरे कोर्कीइलाई बन्धक बनाएर राखिएको यमनको दक्षिणी भागमा अमेरिका तथा यमनका विशेष टोलीले कारवाही गरेका थिए।

'क्रुर हत्या'

अमेरिकी राष्ट्रपति बाराक ओबामाले उक्त घटनालाई क्रुर हत्या भनेका छन्।

अमेरिकी रक्षा मन्त्री चक हेगलका अनुसार पत्रकार सोमर्सलाई विद्रोहीहरुले मार्नै आँटेको भन्ने विश्वासका आधारमा उक्त उद्वार कारवाही गरिएको हो।

तर कोर्किइलाई भने आइतवार रिहा गर्न लागिएको भन्ने रिपोर्टहरु आएका छन्।

शनिवारको कारवाही अमेरिका र यमनका विशेष फौजले संयुक्त रुपमा देशको दक्षिणी साब्वा क्षेत्रमा गरिएको थियो।

ती दुवै जनालाई अल कायदाको सवैभन्दा घातकमध्येको व्रिद्रोही घटकको रुपमा अमेरिकाले ठान्ने गरेको अल कायदा इन द अरेवियन पेनिनसुला एक्युएपीले फरक फरक समयमा बन्धक बनाएको थियो।

एक अमेरिकी अधिकारीले न्युयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार कारवाही चलिरहेका बेला ३३ वर्षीय सोमर्सलाई विद्रोहीहरुले गोली प्रहार गरिदिएका थिए। अमेरिकी सैनिक त्यहां पुग्दा उनी नराम्ररी चोट लागेको अवस्थामा भेटिएका थिए।

सोमर्सकी बहिनी लुसी सोमर्सले अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले आफ्नो भाईको मृत्युको जानकारी दिएको एपीलाई बताएकी छन्।

पत्रकार र फोटो पत्रकारको रुपमा स्थानीय समाचार संस्थामा कार्यरत सोमर्सलाई गत वर्षको सेप्टेम्बर महिनामा यमनको राजधानी सानाको एक सुपर मार्केट बाहिरबाट अपहरण गरिएको थियो भने कोर्किइलाई उनका श्रीमती सहित गत वर्ष यमनको शहर ताइजबाट अपहरण गरिएको थियो ।

उनकी श्रीमतीलाई गत जनवरीमा रिहा गरिएको थियो।