देवानी विरुद्धको मुद्दा खारेज

  • 8 डिसेम्बर 2014
देवानी दम्पति तस्वीर कपीराइट PA
Image caption देवानीमाथि आफ्नी नवविवाहित पत्नी आनीको हत्या गर्न लगाएको भन्ने अभियोग लगाइएको थियो

दक्षिण अफ्रिकाकी एकजना न्यायाधीशले एकजना ब्रिटिश व्यापारी श्रीयन देवानी विरुद्ध उनले पेशेवर हत्याराहरुलाई प्रयोग गरेर आफ्नी नवविवाहिता पत्नीको हत्या गर्न लगाएको भन्ने अभियोगलाई खारेज गरीदिएकी छिन्।

न्यायाधीश जीनेट ट्रेभर्सोले अभियोजन पक्षले पर्याप्त प्रमाण पेश गर्न नसकेको भन्दै देवानीलाई रिहा गर्न आदेश दिइन्।

उनले हत्यामा संलग्न भएको अभियोगमा हाल जेलमा रहेका ट्याक्सी चालक र उनका कथित सहयोगीहरुको बयान पनि भरपर्दो नभएको बताइन्।

अभियोग

देवानीमाथि आफ्नी नवविवाहित पत्नी आनी हिन्दोचासंग केप टाउन शहरमा मधुमास मनाउन गएका बेला नोभेम्बर २०१० मा उनको हत्या गर्न लगाएको भन्ने अभियोग लगाइएको थियो।

देवानीले एउटा ट्याक्सीमा यात्रा गरिरहेका बेला आफुहरुलाई अपहरण गरिएको र हमलाकारीहरुले आफ्नी श्रीमतीमाथि गोली चलाएको बताएका थिए।

श्रीमती देवानीको शव उनीहरुको चढेको ट्याक्सीको पछिल्लो भागमा पाइएको थियो।

अभियोजन पक्षले देवानीले झण्डै आठसय तीस पौण्ड दिएर आफ्नी श्रीमतीको हत्या गर्न लगाएको दावी गरेको थियो।

तर न्यायाधीशले उक्त आरोप पत्याउने कुनै प्रमाण अभियोजन पक्षले पेश गर्न नसकेको बताइन्।

३४ बर्षीय देवानीलाई अब रिहा गरिनेछ।

ब्रिटेनको ब्रिस्टल शहरमा बस्ने बसोबास गर्ने देवानीलाई यसै वर्षको शुरुमा दक्षिण अफ्रिका सुपुर्दगी गरिएको थियो।

निराशा

आनी देवानीका परिवारले न्यायाधीशको फैसलाप्रति दुख र निराशा व्यक्त गरेका छन्।

उनीहरुले न्यायाधीशले आफ्नो पक्षको भनाइ पुरै नसुनेको बताए।

अदालत बाहिर जारी एक वक्तव्यमा उनीहरुले श्रीयन देवानीले आफुले पुरुष तथा महिला दुबैसंग शारीरिक सम्पर्क राख्‍ने गरेको स्वीकारेको पनि उल्लेख गरे।

आनीकी बहिनी आमी डेनबर्गले भनिन्, "न्याय प्रणालीबाट हामीले न्याय पाएनौं।"

दक्षिण अफ्रिकाको राष्ट्रिय अभियोक्ता प्राधिकरणका एकजना प्रवक्ताले भने, उनी न्यायाधीशको निर्णयबाट निराश भएका छन्।

तर उनले अभियोजन पक्षले हत्यामा संलग्न तीनजनालाई सफलतापूर्वक कानुनको कठघरामा उभ्याइएको पनि बताए।