सोधपुछको तरिकाबारे सिआइएको आलोचना

  • 9 डिसेम्बर 2014
ग्वान्टानामो बे  स्थित एकजना बन्दी
Image caption संदिग्ध अलकायदा सदस्यहरुलाई अमेरिकाले देशको सिमाना बाहिरका स्थानहरुमा राख्‍ने गरेको थियो

संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन, सिनेटले, देशको एउटा गुप्तचर निकाय सीआईएको आलोचना गर्दै एउटा प्रतिवेदन सार्वजनिक गरेको छ।

उक्त प्रतिवेदनमा खासगरी सन् २००१ को सेप्टेम्बर ११ तारिख पछि सीआईएले संदिग्धहरुलाई केरकार गर्न प्रयोग गर्ने विवादास्पद तरिकाहरुको आलोचना गरिएको छ।

सीआईएले प्रयोग गरेका बिवादास्पद सोधपुछका तरिकाहरुलाई प्रतिवेदनमा हिंसक र प्रभावहीन भनिएको छ।

सिनेट गुप्तचर समितिकी अध्यक्ष डायन फाइन्सटाइनले कुनै कुनै अवस्थामा बन्दीहरु प्रति गरिएको ब्यवहार यातना बराबर भएको बताइन्।

संदिग्ध आतंककारीहरुलाई १८० घण्टासम्म सुत्न नदिएको, अपमान गरेको र कुटपीट गरेको पनि बताइएको छ।

सिनेटरहरुको भनाईमा सीआईएले संचालन गरेको सो कार्यक्रम त्रुटीपूर्ण थियो र एजेन्सीले मानिसहरुलाई त्यस बारे गलत जानकारी गराएको थियो।

सोधपुछ

अमेरिकी सिनेटको गुप्तचर सूचना समितिको प्रतिवेदनले सिआइएले “केहि सुधारिएको” सोधपुछको तरीका भन्ने गरेको र आलोचकहरुले यातना भनेका केरकारको तरीकाबाट कुनै पनि महत्वपूर्ण जानकारी हासिल हुन नसकेको बताएको छ।

उक्त प्रतिवेदनमा भएका विषयबस्तुहरु कुन सार्वजनिक गर्ने कुन नगर्ने भन्ने बारे असहमतिहरु कायम रहंदा, प्रतिवेदन सार्वजनिक गर्नमा विलम्ब हुंदै आएको थियो।

पांच बर्ष अघि यो प्रतिवेदनका निम्ती छानविन आरम्भ गर्ने सिनेट गुप्तचर समितिकी अध्यक्ष डायन फाइन्सटाइनले प्रतिवेदन सार्वजनिक गर्ने विषयमा महिनौंसम्म ह्वाइट हाउस अधिकारीहरुसंग छलफल गरेकी थिइन्।

अमेरिकामा सेप्टेम्बर ११ का हमलाहरु पछि, अलकायदा आतंकवादसंग सम्बन्ध हुन सक्ने शंकामा हिरासतमा लिइएकाहरु विरुद्ध सिआइएले सोधपुछको कडा तरिका अपनाएको थियो।

रोक

सन् २००९ मा राष्ट्रपति निर्वाचित भएपछि बाराक ओबामाले सिआइएको त्यस्तो सोधपुछ कार्यक्रमलाई रोकिदिएका थिए।

उनले अलकायदा संदिग्धहरुलाई केरकार गर्न अपनाइएको तरिका यातना सरह भएको स्वीकार पनि गरेका थिए।

जर्ज डब्ल्यू बुशको राष्ट्रपतिकालमा सिआइएले अलकायदा विरुद्ध संचालन गरेको कार्वाहीका क्रममा एकसय जति संदिग्ध आतंकवादीहरुलाई अमेरिका बाहिर रहेका “ब्ल्याक साइटस्“ भनिने स्थानहरुमा राखिएको थियो।

तिनीहरुलाई “वाटर बोर्डींग” भनिने मुखमा पानीको धार खन्याएर निस्सासीने तुल्याउने, पिट्ने, अपमानित गर्ने, चिसोमा राख्‍ने र सुत्न नदिने जस्ता तरीकाहरु अपनाई सोधपुछ गरिएको थियो।

उक्त प्रतिवेदन सार्वजनिक गर्नु अघि विश्वभरी कै अमेरिकी सरकारी निकायहरुमा सुरक्षा व्यवस्था उच्च पारिएको छ।

ह्वाइट हाउसका एकजना प्रवक्ताले भने, “अमेरिकी दूतावासहरु र अन्य स्थानहरुमा केहि उच्च जोखिमको संकेत प्राप्त भएकोले त्यसै अनुसार पूर्व सावधानी अपनाइएको हो।“

सिनेटको समितिले तयार पारेको उक्त प्रतिवेदन ६ हजार पृष्ठ भन्दा लामो छ र त्यसमा ठूलो मात्रामा प्रमाणहरुको विवरण छ।