तीन साताभित्र दुबै आयोगमा पदाधिकारी सिफारिस

  • 9 डिसेम्बर 2014
Image caption द्वन्दपीडितहरुले लामो समयदेखि न्याय नपाएको भन्दै गुनासो गर्दै आएका छन्

बहुप्रतीक्षित सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोगहरुमा अबको तीनसातामा पदाधिकारी सिफारिस हुने सिफारिस समितिले जनाएको छ।

दुबै आयोगका लागि अध्यक्षसहित ५/५ जना सदस्यहरु चयन गर्ने जिम्मा पाएको सिफारिस समितिले मंगलबार मुख्य तीन दलका शीर्ष नेताहरुसँग भेटि आफूहरु अन्तिम चरणमा पुगेको जानकारी गराएको थियो।

पदाधिकारीका लागि परेका आवेदन र समितिले नै चयन गर्ने ख्याति प्राप्त तथा राष्ट्रिय योगदान पुर्याएका व्यक्तिको नामावलि छिट्टै सार्वजनिक गर्ने बताइएको छ।

अन्तरिम संविधान जारी भएको ६ महिनाभित्र गठन हुने भनिएको, द्धन्द्धकालका मुद्दालाई सम्बोधन गर्ने दुबै आयोग आठ वर्ष बितिसक्दा पनि गठन हुन सकेका छैनन्।

आह्वान

गत असारमा दुबै आयोग गठनका लागि पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको अध्यक्षतामा गठन भएको सिफारिस समितिले आफ्नो काम अन्तिम चरणमा पुगेको भन्दै अहिलेसम्म गरेको कामको विवरणबारे मुख्य दलका प्रमुखहरुलाई जानकारी गराएको छ।

राष्ट्रिय मानव अधिकार आयोगको तर्फबाट सिफारिस समितिमा सदस्य रहेका सुदिप पाठक भन्छन्, "हामी सन् २०१४ भित्रै पदाधिकारी सिफारिस गर्छौं भन्ने जानकारी दियौं। साथै यसमा भएको कानुनी प्रावधानबारे पनि देखायौं।"

सिफारिस समितिले दुबै आयोगमा पदाधिकारीका लागि इच्छुकलाई आवेदन बुझाउन दसैँ अगाडि आह्वान गरेको थियो।

त्यसमा परेका आवेदनबाहेक आयोग आफैँले पनि केही व्यक्तिको सुचि तयार पारेको समितिले जनाएको छ।

अपेक्षा

उनले भने, "आवेदन परेको नाम पनि छ, त्यसबाहेक हामी आफैँले विषयगत ज्ञान र राष्ट्रिय व्यक्तित्वको सन्दर्भमा पनि करिब ७०/७५ नाम छ। तर हामीले केही दिनमा खुलाउँछौं।"

आयोग गठनकै विषयलाई लिएर केही द्धन्द्धपीडितहरुले आपत्ति जनाउँदै दायर गरेको रिट भने सर्वोच्च अदालतमा केही महिनादेखि विचाराधीन छ।

तथापि आयोगहरुले पूर्णता पाएपछि लामो समययता थाती रहेका द्वन्द्वकालीन घटनाहरु तथा बेपत्ताहरुको अवस्थाबारे किनारा लगाउन बाटो खुल्ने अपेक्षा गरिएको छ।

शान्ति प्रक्रियाको अभिन्न हिस्साका रुपमा हेरिएका ती मामिलाको व्यवस्थापन कसरी हुन्छ त्यसमै शान्ति प्रक्रियाको सफलता/असफलता जोडिएको ठान्नेहरु पनि प्रशस्तै छन्।