पुन:निर्माण नहुँदा प्रहरी 'असुरक्षित'

  • 10 डिसेम्बर 2014
Image caption सशस्त्र द्वन्द्वकालमा आक्रमणमा परेका प्रहरी चौकीमध्ये आधाको पुन:निर्माण हुन सकेको छैन

दशवर्षे सशस्त्र द्वन्द्वकालमा आक्रमण गरिएका प्रहरी कार्यालयहरु आधाजतिको पुन:निर्माण हुन अझ बाँकी रहेको अधिकारीहरुले बताएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार त्यसबेला देशभर ८ सय ७४ प्रहरी कार्यालयहरु आंशिक तथा पूर्ण ध्वस्त बनाइएका थिए ।

शान्ति तथा पुन:निर्माण मन्त्रालयको शान्तिकोष सचिवालय मार्फत हालसम्म २ सय ८३ वटा प्रहरी कार्यालयको पुन:निर्माण भएको प्रहरी प्रवक्ता माधव जोशीको भनाइ छ।

जोशीका अनुसार केही निर्माणाधीन छन् ।

प्रक्रिया

सबै निर्माण हुन कति समय लाग्छ उनी भन्न सक्दैनन्।

जोशी भन्छन्, "४३ वटा प्रहरी चौकीको पुनर्निर्माणका लागि टेन्डर भइसकेको छ।"

"हामीले ७ सय ६८ वटा चौकी पुनर्निर्माणका लागि शान्तिकोष सचिवालयसंग सम्झौता गरेका थियौं । सबै निर्माण भइसक्न कति समय लाग्छ भन्ने कुरा अहिले भन्न सकिने अवस्था छैन।"

द्वन्द्व कालमा माओवादीले ध्वस्त बनाएको इलाका प्रहरी कार्यालय कुमरखोदको निरीक्षणपछि सर्वसाधारणको सुरक्षामा खटिने प्रहरी आफैं असुरक्षित भएको अञ्चल प्रहरी कार्यालय मेचीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक पुस्कलराज रेग्मी बताउँछन्।

चिन्ता

उनी भन्छन्, "बस्ने बासै ठीक नभएपछि कति समस्या हुन्छ त्यो त हामी सबैले बुझेकै छौं, कतिखेर घर भत्केला आफ्नै टाउकोमाथि इटा आएर बज्रेला भन्ने चिन्ता।"

मेची अञ्चलमा मात्र द्वन्द्वकालमा ५२ वटा प्रहरी कार्यालयहरु ध्वस्त पारिएको थियो ।

जस्मा १६ वटा पुन:निर्माण भएको मेची अञ्चलका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक पुस्कलराज रेग्मी बताउँछन् ।

अहिलेसम्म पुन:निर्माण हुन नसकेका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरु भन्छन् सर्वसाधारणलाई सुरक्षा दिनका साथै प्रहरीसंग भएका हतियार जोगाउन समेत मुस्किल हुने अवस्था आउन सक्छ।