सरुवा-बढुवामा पैसाको चलखेल:प्रधानमन्त्री

  • 11 डिसेम्बर 2014
np तस्वीर कपीराइट .
Image caption नेपाल प्रहरीभित्रको सरुवा तथा बढुवा प्राय:जसो विवादमा आउने गरेका छन्

प्रहरी संगठनसहितका निकायभित्र भर्ना, बढुवा तथा सरुवाका लागि पैसाको लेनदेन हुने गरेकोतर्फ इंगित गर्दै प्रधानमन्त्री सुशील कोइरालाले त्यसले ती निकायहरुलाई बर्बाद बनाउन थालेको बताएका छन्।

काठमाण्डुमा बिहीबार शुरु भएको वरिष्ठ प्रहरी अधिकृतहरुको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्।

नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालले भने संगठनभित्र भ्रष्टाचार रोक्न आफूहरु क्रियाशील रहेको भन्दै प्रहरीको बचाउ गरेका थिए।

पैसा

प्रहरीभित्र सरुवा, बढुवा र भर्नामा रहेको भनिएको बेथितितर्फ इंगित गर्दै सार्वजनिक रुपमै पछिल्लोपटक सबैभन्दा उच्चतहबाट यस्तो कडा टिप्पणी आएको यो पहिलो घटना भएको ठानिएको छ।

बढुवा र सरुवाका आकांक्षी थुप्रै उच्चप्रहरी अधिकारीहरु समेत सम्मिलित उक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले भने,“पैसाले बर्बाद भयो। भर्नामा पनि पैसा, बढुवामा पनि पैसा जतासुकै पैसा”।

यसअघि गत जेठमा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश खरेलले भ्रष्ट प्रहरी अधिकारीहरु सरुवा, बढुवाका लागि पैसाको ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउने गरेको सार्वजनिक टिप्पणी गरेपछि त्यसले हलचल नै निम्त्याइएदिएको थियो।

लगत्तै उनलाई कारवाही गरिएको शैलीमा काठमाण्डू प्रहरी प्रमुखबाट मुख्यालय तानेर चितवनस्थित तालिम केन्द्र पठाइएको थियो।

विवादास्पद

पछि प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा ९ जना प्रहरी नायब महानिरीक्षक डीआइजीहरुलाईको बढुवा गरिएको घटना पनि निकै विवादस्पद बन्न पुग्यो।

बढुवामा नपरेका चार जना डीआइजी सर्वोच्च अदालत गएपछि उनीहरुलाई पनि एआइजीमा बढुवा गर्न आदेश सर्वोच्चले दियो, जुन हालसम्म कार्यान्वयन नहुंदा उनीहरु घरमै बस्न वाध्य छन्।

फलत: अहिले ती चार डीआइजी पद रिक्त छन् जसका लागि थुप्रै एसएसपीहरु आकांक्षी रहेको बताइएको छ।

यस्ता खाले बढुवाका लागि मात्रै नभइ सरुवा र भर्नामा समेत पैसाको चलखेल भएको प्रधानमन्त्रीले इंगित गरेपछि त्यसको जवाफ दिदैं प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले भने, “प्रहरी संगठनभित्र गैरव्यावसायिक काम भए, भ्रष्टाचार भए रोक्न हामी क्रियाशील भएर लागिरहेका छौं”।

तर यस्ता प्रतिवद्धता कार्यान्वयन गर्न प्रहरी स्वयम् असफल भएको भन्दै धेरैले आलोचना गरिरहेका बेला कतिपयले भने प्रहरी संगठनमाथि गरिने राजनीतिक हस्तक्षेप पनि उत्तिकै दोषी रहेको टिप्पणी गरेका छन्।