सिआइएद्वारा सोधपूछको तरिकाको पुन: बचाउ

  • 12 डिसेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption सोधपूछका तरिकाबाट महत्वपूर्ण सूचना प्राप्त भएको सिआइए निर्देशक जोन ब्रेन्ननको दाबी छ

अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआइएका निर्देशक जोन ब्रेन्ननले सेप्टेम्बर ११ को आक्रमणपछि सोधपूछका लागि अपनाइएका तरिकाहरुको बचाउ गरेका छन्।

यद्यपि केही तरिकाहरु कठोर र विभत्स भएको उनले स्वीकारेका छन्।

भर्जिनियास्थित सिआइएको मुख्यालयमा बोल्दै त्यसका निर्देशक ब्रेन्ननले केही अधिकारीहरुले क्षेत्राधिकार बाहिर गएर काम गरेपनि अधिकांशले आफ्नो कर्तव्यको पालना गरेको बताए।

दुई दिनअघि अमेरिकी सिनेटले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा पानीमा चोपल्ने जस्ता सिआइएले अपनाएको सोधपूछका क्रुर तरिकाहरु अप्रभावकारी रहेको उल्लेख गरिएको थियो।

प्रभावकारी

तर सिआइएले सजिलै उत्तर नपाउने बेला थुप्रै राम्रो काम गरेको ब्रेन्ननको तर्क थियो।

सिआइएले बिरलै आयोजना गर्ने पत्रकार सम्मेलनमा उनले भने, “हामीले समीक्षा गर्दा कैदी बनाउने र सोधपूछ गर्ने हाम्रो कार्यक्रम प्रभावकारी रहेको देखियो, उक्त कार्यक्रमले अमेरिकामा गर्ने भनिएका आक्रमणका योजनाहरु विफल बनाउन, आतंककारीहरुलाई पक्राउ गर्न र मानिसहरुको ज्यान बचाउन सहयोग गर्यो।”

तर आफूहरुले सोधपूछका उच्च तरिकाहरु अवलम्बन नगरेको उनको भनाई थियो।

तस्वीर कपीराइट AFP
Image caption सिनेटको अध्ययन प्रतिवेदनको पूर्व रक्षामन्त्री डिक चेनीले आलोचना गरेका छन्

निर्देशक ब्रेन्ननले कैदीहरुबाट थाहै पाउन नसकिने सूचनाहरु प्राप्त गरेको बताए।

यातना

पत्रकार सम्मेलनमा ब्रेन्नन बोलिरहँदा अध्ययन प्रतिवेदन तयार पार्ने समितिका प्रमुख डिआन फाइन्सटाइनले सामाजिक सञ्जाल ट्विटरमार्फत उनका तर्कहरु अस्वीकार गरिरहेका थिए।

एउटा ट्विटमा उनले लेखेका छन्, “अरु तरिकाबाट थाहा पाउन सकिने सूचना थाहा पाउने नसकिने सूचना रे, अध्ययनले त्यसलाई थाहा पाउन सकिने सूचना भन्छ, यातना दिनुअघिनै सिआइएलाई ती सूचनाहरु थाहा हुन्थ्यो।”

सन् २००२ मा कैदी बनाउने र सोधपूछ गर्ने कार्यक्रम लागु गरिएको बेला ब्रेन्नन सिआइएका वरिष्ठ अधिकारी थिए।