'सहमतिबिना सार्थक निर्णय आउँदैन'

  • 15 डिसेम्बर 2014
Image caption प्रतिवेदनमाथि सोमबारदेखि संविधानसभामा छलफल सुरु हुँदैछ

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आफ्नो प्रतिवेदन गत हप्ता संविधानसभामा बुझाएपछि त्यसमाथि छलफल गर्न सोमबारदेखि संविधानसभाको बैठक बस्दैछ।

प्रतिवेदन बुझाएयता संविधानका अन्तर्वस्तुमा सहमति खोज्न सत्तारुढ र विपक्षी दलहरुबीच पटक-पटक संवाद र छलफल भएपनि सहमति हुन नसक्दा सोमबारको बैठकले सार्थक निर्णय दिन भने नसक्ने नेताहरुले बताएका छन्।

संवाद समितिले आफ्नो प्रतिवेदन नबुझाएकोले संविधानसभा कामविहीन हुनु परेको र सभासदहरु फुर्सदिला भएको भन्ने आलोचनामाझ समितिका सभापति बाबुराम भट्टराईले गत साता संविधानसभामा प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्तिक १५ गते भित्रमा असहमति भएका मुद्दाहरुलाई प्रश्नावली बनाएर संविधानसभामा प्रस्तुत गर्नुपर्नेमा दलहरुको प्रस्तावलाई जस्ताको तस्तै राखी उक्त प्रतिवेदन गत हप्ता संविधानसभामा प्रस्तुत भएको हो।

निष्कर्ष

त्यसमा समेटिएको दलहरुको प्रस्तावबारे छलफल गर्न सोमबार पहिलो पटक संविधानसभाको बैठक बस्न लागेको हो।

तर प्रतिवेदन बुझाईएयता सत्तारुढ र विपक्षी गठबन्धनहरुबीच राज्य पुनसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायतका मुलभूत विवादित मुद्दाहरुबारे द्विपक्षीय तथा बहुपक्षीय छलफलहरु भएपनि ठोस निष्कर्ष निस्कन सकेको छैन्।

जसले गर्दा सोमबाको बैठकबाट सार्थक निर्णय आउन नसक्ने नेकपा एमालेका नेता भिम रावलले बताए।

उनले भने, “अहिलेसम्म हामीले गरेको वार्ताहरु कुनै निष्कर्षमा पुगेको अवस्थामा छैन्। निष्कर्षमा पुगेर सहमति स्थापित नहुँदासम्म संविधानसभाको बैठकमा कुनै सार्थक निर्णय आउने अवस्था देखिंदैन।”

सम्भावना

तर सोमबारको बैठकअघि पनि शीर्ष नेताहरुबीच फेरि छलफल हुने सम्भावना रहेकोले त्यसै अनुसार अगाडि बढ्ने एकीकृत माओवादीका नेता हरिबोल गजुरेलले बताए।

उनले भने, “बैठक सुरु हुनु अगाडि शीर्ष नेतृत्वबी पनि छलफल हुन्छ। कसरी अगाडि बढ्ने भन्नेमा कस्तो समझदारी बन्छ त्यही अनुसार हुन्छ।”

संविधान जारी गर्न अब ६ हप्ता मात्रै बाँकी रहँदा विवादित विषयहरुमा छिटो सहमति खोज्न दलहरुमाथि दबाब बढेको बताईन्छ।