सरकारी कार्यालयमा मंगलबारदेखि दुई शिफ्ट

  • 16 डिसेम्बर 2014
तस्वीर कपीराइट v
Image caption दुई शिफ्टको सेवाको विस्तार अन्य जिल्लाहरुमा पनि गरिने बताईएको छ

सरकारले मंगलबार विहान ६ बजेदेखि लागू हुने गरी पाँच विकास क्षेत्रका पाँचवटा जिल्लामा अत्याधिक चाप हुने कार्यालयहरुमाबाट दुई शिफ्टमा सेवा सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालयको राहदानी र नागरिकता फाँट र त्यसैगरी नापी, मालपोत, यातायात, खानेपानी, विद्युत, टेलिफोन जस्ता बढी भीड हुने कार्यालयहरुमा यसरी सेवा दिईने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

शिफ्ट अनुसार काम नगर्ने कर्मचारीप्रति कडा रवैया अपनाईने सामन्य प्रशासनमन्त्री लालबाबु पण्डितले चेतावनी दिएका छन्।

मंगलबारदेखि दैनिक १२ घण्टा कार्यालय सञ्चालन हुने गरी दुई शिफ्टमा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सेवाग्राहीहरुलाई सेवा दिइनेछ।

सेवाग्राही

कतिपय जिल्लाहरुमा कार्यलय विहान सात बजे खुल्ने भए १२ घण्टा पुग्ने गरी बेलुकी सोही समयमा नै बन्द हुने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सेवाग्राहीले सेवा लिन घण्टौं कुर्नु पर्ने निकायहरुबाट दुई शिफ्ट सुरु गरिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताए।

उनले भने, “जिल्ला प्रशासन कार्यालयको नागरिकता र राहदानी फाँट मात्रै सुरु हुन्छ, मालपोत, नापी, विद्युत महशुल, खानेपानी महशुल, टेलिफोन महशुल, चालक अनुमति पत्र, वैदेशिक रोजगार र श्रम अनुमति पत्र जस्ता ठाउँहरुमा अहिले सेवा सुरु गरेका छौं।”

विहान र बेलुकीको शिफ्टमा अलग अलग कर्मचारीले काम गर्ने र यस्ता कर्मचारीहरुको व्यवस्थापन भइसकेको बताइएको छ।

सुविधा

कर्मचारीको अभाव भएको जानकारी आएमा मन्त्रालयले थप कर्मचारीको व्यवस्था गर्ने मन्त्री पण्डितले बताए।

नियमित कार्यलय समयमा समेत कर्मचारीहरुले राम्ररी काम नगर्ने गरेको भन्ने गुनासोमाझ शिफ्ट प्रणाली लागू हुँदा विहान झिसमिसेमै वा साँझ अबेरसम्म उनीहरुले काम गर्ने हुन् कि होइनन् भन्नेमा कतिपयले आशंका व्यक्त गरेका छन्।

तर कर्मचारीमाथि कडा निगरानी राखिने मन्त्री पण्डितले बताए।

“काम नगर्नेहरुको काम छैन्, त्यसको व्यवस्थापन अलग्गै हुन्छ, काम गर्दिन भन्न कोही पाउँदैन, आफ्नो सुविधामा मात्र ध्यान दिनेहरुले जनताको सेवा सुविधातर्फ पहिला ध्यान दिनु पर्छ,” पण्डितले भने।

मालपोत र नापी कार्यलयलाई दुई सिफ्टमा सञ्चालनका लागि अन्य ६ वटा जिल्लाहरु सुनसरी, धनुषा, चितवन, पाल्पा, कास्की र बर्दियामा पनि तयारी पुरा भएको मन्त्री पण्डितले बताए।