पाकिस्तानी विद्यालय पुन: सरकारी नियन्त्रणमा

  • 16 डिसेम्बर 2014
तस्वीर कपीराइट BBC World Service

पाकिस्तानको सुरक्षा सैन्यले तालेवान उग्रवादीहरुले कब्जामा लिइ हमला गरेका पेशावरस्थित एउटा विद्यालयमा पुन: आफ्नो नियन्त्रण कायम गरेका छन्।

उक्त घटनामा कम्तीमा १३० जनाको ज्यान गएको छ, जस मध्ये धेरैजसो बालबालिकाहरु छन्। मारिने विद्यार्थीहरु सैनिक परिवारका थिए। ।

सुरक्षाकर्मीको पोशाक लगाएका पांच या छ जना बन्दूकधारीहरुले उक्त विद्यालयमा प्रवेश गरी हमला गरेका थिए।

प्रहरीले सबै ६ जना हमलाकारी मारिएको र भवनमा बिस्फोटक पदार्थहरुको खाजी भैरहेको बताएका छन्।

उक्त हमलालाई पाकिस्तानमा हालसम्म भएको त्यस्तो प्रकारको सबैभन्दा खराब भनिएको छ।

कराचीबाट बीबीसीका शाहजेब जीलानी भन्छन् हमलाकारीहरुले पहिले अनुमान गरिएभन्दा विपरीत बढीभन्दा बढी विद्यार्थीलाई बन्धक बनाउन भन्दा तिनको ज्यानै लिन खोजेका जस्तो देखिएको थियो।

स्तब्ध

इस्लामावादमा रहेका बीबीसीका आमेर अहमद खान भन्छन् विद्यालय पढ्ने बालबालिकाको ज्यान लिइएको उक्त हमलाबाट मानिसहरु स्तब्ध भएका छन्।

तस्वीर कपीराइट AFP
Image caption हमलामा घाइतेहरुको नजीकका अस्पतालहरुमा उपचार भैरहेको छ

पाकिस्तानी तालेवानका एकजना प्रवक्ताले उत्तरी वजीरीस्तान र खैबर क्षेत्रमा जारी सैनिक कार्वाहीको बदलामा सो हमला गरिएको जनाएका छन्।

त्यस क्षेत्रमा हालैको सैनिक कार्वाहीमा सयौं तालेवान लडाकुहरु मारिएका बुझिएको छ।

विद्यालयमा भएको सो हमलामा मारिने धेरैको ज्यान आत्मघाती विस्फोटका कारण गएको हुन सक्ने बताइएको छ। त्यसरी मारिनेमा असी जना भन्दा बढी बालबालिकाहरु रहेका छन्।

स्थानीय समय अनुसार विहानको दश बजे तिर बन्दूकधारीहरुको हमला शुरु भएको थियो। ‌

उक्त सैनिक विद्यालयका एकजना कर्मचारी मुदस्सीर अवानले आफूले बन्दूकधारीहरुलाई विद्यालयको पर्खाल चढेर प्रवेश गरेको देखेको बताएका छन्।

तालिम

तस्वीर कपीराइट Reuters

स्थानीय जीयो टेलिभिजनले कुराकानी गरेका एकजना विद्यालय कर्मचारी र विद्यार्थीले हमलाकारीहरु उक्त सेनाको पब्लीक विद्यालयको अडिटोरियममा प्रवेश गरेका बताएका छन्, जहां एउटा सैनिक टोलीले विद्यार्थीहरुलाई प्राथमिक उपचारका बारे तालिम दिइरहेका थिए।

सुरक्षा सैन्यले उग्रवादीहरु विरुद्ध कार्वाही थाल्दा गोली चलेको र विस्फोटका आवाजहरु सुनिएका थिए।

घाइतेहरुलाई एम्बुलेन्स मार्फत नजीकका अस्पतालहरुमा लगिएको थियो।

उक्त विद्यालयका धेरै जसो विद्यार्थी सैनिकका बालबालिकाहरु छन् र ति मध्ये धेरैको उमेर १६ वर्ष वा त्यो भन्दा मुनि रहेको छ।

पाकिस्तानी सुरक्षा सैन्यले उक्त विद्यालय भवनलाई घेराबन्दी गरी त्यसलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

पेशावरका अधिकारीहरुका अनुसार उक्त विद्यालयमा पांच सय विद्यार्थी अध्ययन गर्दछन्।

केहि समयघि पेशावर पुगेका पाकिस्तानका प्रधानमन्त्री नवाज सरीफले सो घटनालाई राष्ट्रिय शोक भन्दै हमलाको भर्त्सना गरेका छन्।

तस्वीर कपीराइट Reuters
Image caption हमलामा घाइतेहरुलाई एम्बुलेन्सहरुबाट नजीकका अस्पतालहरुमा लगिएको थियो

त्यसैगरी एकजना विपक्षी नेता तथा भूतपूर्व क्रिकेट कप्तान इमरान खानले पनि उक्त हमलालाई बर्बर कार्य भन्दै निन्दा गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पेशावरको विद्यालयमा भएको आक्रमणको निन्दा गरेका छन्।

सामाजीक संजालको वेबसाइट ट्वीटरमा सन्देश व्यक्त गर्दै उनले उक्त हमलालाई अवर्णनीय क्रुरताको संवेदनहीन कार्य भनेका छन्।

उनले उक्त हमलामा आफ्ना प्रीयजन गुमाउनेहरुमो पीडामा आफू पनि सरिक रहेको जनाएका छन्।