बन्धक प्रकरणः बन्दुकधारीसहित तीन मारिए

  • 16 डिसेम्बर 2014
तस्वीर कपीराइट Getty
Image caption कमाण्डोहरुले कारवाही गर्दा बन्धक बनाईएका मानिसहरु बाहिर निस्केका थिए

अष्ट्रेलियाको सिड्नी सहरमा एकजना बन्दुकधारीले मानिसहरुलाई बन्धक बनाएको एउटा क्याफेमा सुरक्षाकर्मीले कारवाही गर्दा बन्दकधारीसहित तीनजना मारिएका छन्।

कमाण्डोहरुले कारवाही गरी झण्डै १६ घण्टा लामो बन्धक प्रकरण अन्त्य गरेको अधिकारीहरुले बताएका छन्।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, घटनामा मारिनेहरुमा लिन्ट क्याफेका व्यवस्थापक ३४ वर्षीय टोरी जन्सन र ३८ वर्षीया वकिल कट्रिना डाव्सन रहेका छन्।

घटनामा एकजना प्रहरीसहित चार जना घाईते भएका छन्।

घेराबन्दी

सोमबार विहानै इरानी शरणार्थी रहेका बन्दुधकारीले उक्त क्याफेमा मानिसहरुलाई बन्धक बनाएपछि सुरक्षाकर्मीहरुले मध्य सिड्नीलाई घेराबन्दी गरेका थिए।

मार्टिन प्लेसमा अवस्थित लिन्ट क्याफे व्यस्त व्यापारिक क्षेत्रमा रहेको छ।

बन्दुकधारी मन हारुन मोनिसले क्याफेभित्र अरेबिक अक्षरमा लेखिएको ब्यानरसंगै मानिसहरुलाई झ्यालमा हात उठाउन लगाएका थिए।

सन् १९९६ मा अष्ट्रेलियामा राजनीतिक शरण पाएका मोनिसमाथि विभिन्न आरोपहरु लगाईएको थियो र उनी जमानतमा रिहा भएका थिए।

तस्वीर कपीराइट EPA
Image caption मन हारुन मोनिस पहिल्यैदेखि अपराधमा संलग्न रहेको बताईएको छ

प्रधानमन्त्री टोनी एब्बटले क्याफेभित्र भयावह घटना भएको र त्यस्तो आतंकवादी सामनाबाट पाठ सिक्नुपर्ने बताएका छन्।

सामना

उनले भने, “यी घटनाहरुले हाम्रो जस्तो खुला र उद्दार मुलुकपनि राजनीतिक रुपले पूर्वाग्रही हिंसाको खतरामा रहेको देखाएका छन्, तर सामना गर्नका निम्ति हामी तयार छौं भन्ने कुरा पनि त्यसले देखाएको छ।”

अधिकारीहरुका अनुसार, मृतकहरुको सम्झनामा न्यु साउथ वेल्समा झण्डा आधा झुकाईनेछ।

स्वीस चक्लेट निर्माता लिन्टले मानिसहरु हताहत र घाईते भएकोबाट स्तब्ध भएको र त्यसको पीडाले सताईरहने जनाएको छ।

न्यु साउथ वेल्सका प्रहरी आयुक्त एन्ड्रिउ शिप्योनेले उक्त घटनालाई कहिले काही हुने घटनाको संज्ञा दिए।