पाकिस्तानमा तीन दिने शोकको घोषणा

  • 17 डिसेम्बर 2014
अन्तिम संस्कार तस्वीर कपीराइट AP
Image caption हमलामा मारिनेहरु मध्ये अधिकांस बालबालिका थिए

पाकिस्तानको पेशावर शहरमा तालिबान विद्रोहीहरुको हमलामा १४० जना भन्दा बढी मानिसको ज्यान गएपछि पाकिस्तान शोकमा डुबेको छ।

मारिएका मध्ये केहीको पेशावरमा अन्तिम संस्कार गरिएको छ।प्रधानमन्त्रीले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

आक्रमणको अन्तर्राष्ट्रिय स्तरमा भर्त्सना भएको छ।

विद्रोहीहरुले पेशावरको सैनिकद्वारा सञ्चालित एक विद्यालयमा हमला गर्दा सात विद्रोही सहित एक सय चालिस जना भन्दा वढी व्यक्तीको ज्यान गएको थियो। ती मध्ये अधिकांस बालबालिका थिए।

गहिरो चोट

बालबालिकाका आफन्तले निर्दोष विद्यार्थीहरु मारिएको घटनाप्रति आश्चर्य प्रकट गरे। बालिका शिक्षाकी अभियानकर्ता नोबेल शान्ति पुरस्कार विजेता किशोरी मलाला युसुफजाइले घटनाले आफूलाई गम्भीर चोट लागेको बताइन्।

“म र मेरो परिवारलाई यो आक्रमणबारे सुनेर गहिरो चोट लागेको छ, म अन्तर्राष्ट्रिय समुदायसँग आतंकवाद बिरुद्ध लड्न एक जुट हुन आह्वान गर्दछु।"

"हामीले हरेक बालकले सुरक्षित रुपमा शिक्षा पाउने वातावरण सुनिश्चित गर्नु पर्दछ।"

तस्वीर कपीराइट EPA
Image caption मारिएका बालबालिकाको सम्मानमा कराँचीमा मैनबत्ती बालेर एक समारोहको आयोजना गरिएको थियो

कराँची शहरमा मैनवत्ती बालेर धेरै मानिसहरुले मारिएकाहरुको सम्झना गर्दै उनीहरुप्रति सम्मान व्यक्त गरेका गरेका छन्।

एक आफन्तले भने, "निर्दोष विद्यार्थीहरुलाई किन मारिएको होला? सरकारी सुरक्षा कारवाहीहरुसँग यि वच्चाहरुको के सम्वन्ध थियो र?"

पाकिस्तानी तालेबानले उत्तरी वाजिरिस्तान र खैबर क्षेत्रमा गरिएको विद्रोही विरोधी कारवाहीको जवाफ स्वरुप विद्यालमा हमला गरिएको जनाएको छ।

तर अफगानी तालिबानले सो आक्रमणको आलोचना गर्दै निर्दोष बालबालिका मार्ने काम इस्लाम विरोधी भएको बताएको छ।

पाकिस्तानस्थित बीबीसीकी सैमा खलील भन्छिन्, सामान्य ढंगले शुरु भएको दिन नरसंहारमा बदलिन पुगेको थियो।