पुटिनद्वारा आर्थिक चिन्ता साम्य पार्ने प्रयास

  • 18 डिसेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption रुसी राष्ट्रपतिले बाहिरी तत्वहरुका कारण देशमा मुद्रा संकट देखिएको बताएका छन्

यसै हप्ता रुबलको मूल्य हालसम्मकै न्यून विन्दूमा खस्केपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको अर्थतन्त्र सम्हालिने भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्।

आफ्नो वार्षिक समाचार सम्मेलनमा बोल्दै पुटिनले स्थितिलाई नियन्त्रणमा लिन देशको केन्द्रीय बैंकले कदम चाल्न ढिलो गरेको स्वीकार गरे।

तर उनले रुबललाई स्थिर तुल्याउन चालिएका कदमहरु प्रभावकारी हुनेमा जोड पनि दिए।

बर्षको अन्त्यमा आयोजना हुंदै आएको झण्डै तीनघण्टा लामो पत्रकार सम्मेलनमा बोल्दै रुसी राष्ट्रपतिले वर्तमान मुद्रा संकटका लागि बाहिरी तत्वहरुलाई दोष दिएका थिए।

आरोप

मुख्यतया तेलको घट्दो मूल्य र पश्चिमा देशहरुले लगाएका प्रतिबन्धहरुका कारणहरुले गर्दा रुस आर्थिक मन्दीको अवस्थामा प्रवेश गर्ने चरणमा पुग्नै लागेको छ।

तर राष्ट्रपति पुटिनले आफूले आक्रामक विदेश नीति नअपनाएको भन्दै अमेरिका र युरोपेली संघलाई रुसलाई कमजोर तुल्याउन षडयन्त्र गरेको अरोप लगाए।

उनले विगत दुई दशकमा अर्थतन्त्रलाई विविधीकरण गर्न पर्याप्त काम हुन नसकेको र तेल तथा ग्याँस निर्यातमा अत्यधिक भर परेको पनि स्वीकार गरे।

तर अर्थतन्त्रलाई स्थीर राख्‍न देशमा पर्याप्त मुद्रा मौज्दात रहेको उनको भनाइ थियो।

खचाखच भरिएको सम्मेलन कक्षलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, “म वर्तमान अवस्था संकटपूर्ण छ भन्नेमा विश्वास गर्दिनँ। तपाईंहरु यसलाई आफूलाई जे लाग्छ त्यो भन्न सक्नु हुन्छ।”

बिहीबार बिहान रुबल केहि बलियो देखिएको भएता पनि यो हप्ता सो मुद्राले निकै नराम्रो अवस्था बेहोर्नु परेको छ।

जवाफ

रुसको केन्द्रीय बैंकले ब्याजदर बढाएर १७ प्रतिशत तुल्याउंदा पनि रुबलको मूल्य खस्कने दर नियन्त्रणमा आएको थिएन।

बीबीसीका जन सिम्पसन भन्छन्, राष्ट्रपति पुटिनले विना कुनै टिपोटको सहारा स्पष्ट शैलीमा आफ्नो कुरा राखेका थिए।

पत्रकार सम्मेलनका क्रममा उनले आफूप्रति आक्रामक रुपमा प्रस्तुत हुने गरेका रुसी र विदेशी पत्रकारहरुका प्रश्नको जवाफ पनि दिएका थिए।

रुबलको गिर्दो मूल्य, पेन्सन तथा जीवनस्तरसंग सम्बन्धित आशंकाहरुलाई साम्य पार्नु उनको उद्देश्य रहेको देखिन्थ्यो।

रुसी राष्ट्रपतिले हालको खराब आर्थिक अवस्थामा सुधार आउन दुई बर्षसम्मको समय लाग्न सक्ने बताएका छन्।

उनले तेलको घट्दो मूल्यबाट उत्पन्न परिस्थितिसंग रुस जुध्न सक्नेमा पनि जोड दिए।