नयाँ प्रावधान 'तत्काल कार्यान्वन नहुने'

  • 18 डिसेम्बर 2014
Image caption चालक अनुमतिपत्र दिनेबारे नयाँ नियमावली तत्काल कार्यान्वयन नहुने भएको छ

सरकारले सार्वजनिक सवारी चालक अनुमतिपत्रबारे ल्याएको नयाँ नियमावली तत्काल कार्यान्वयन नगर्ने भएपछि मजदुर संगठनहरुको यातायात बन्द फिर्ता लिने भएका छन्।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसँगको छलफल पछि तीनवटै मजदुर संगठनहरुले संयुक्त विज्ञप्ती जारी गरी समस्याको समाधान वार्ता र छलफलकै माध्यमबाट गर्ने बताएका हुन्।

देशभर सडक दुर्घटनाहरु बढदै गएपछि मन्त्रिपरिषदले चालक अनुमतिपत्र नियमावलीलाई संशोधन गर्ने निर्णय हालै गरेको थियो।

अनुमतिपत्र लिने व्यक्तिको उमेर, शैक्षिक योग्यता र अनुमतिपत्र खारेजीको व्यवस्थाबारे प्रस्तावित परिवर्तनहरु व्यवहारिक नभएको भन्दै मजदुर संगठनहरुले विरोध जनाएका थिए।

वार्ता

त्यसैको विरोधमा देशका विभिन्न ठाउँमा केही दिनदेखि यातायात बन्द गरिएका छन्।

मजदुर संगठनका प्रतिनिधिहरु र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाबीच बुधबार वार्ता भएको थियो।

वार्तापछि नेपाल यातायात मजदुर संघका अध्यक्ष अजय कुमार राईले भने- "सहमति र छलफल गरेर मात्र कार्यान्वयनमा ल्याउँछु भन्नु भएको छ त्यसैले हामीले सम्पुर्ण यातायात संचालन गर्ने निर्णय गरेर सबैलाई निर्देशन दिइसकेका छौं।"

गुनासो

नियमावलीमा संशोधन आवश्यक भएपनि सरकारले कार्यान्वयन गराउनु पर्ने निकायहरुसँग छलफल नगरेको उनीहरुको गुनासो छ।

सरकार र मजदुर संगठनहरुबीच विवाद उत्पन्न गराएको उक्त नियमावलीमा १० कक्षा उतिर्ण गरेको र २५ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ।

यसअघि अनुपतिपत्रका लागि २१ वर्षको उमेर पुगेको र सामान्य लेखपढ हुनुपर्ने व्यवस्था रहेको थियो।