सोनी आक्रमणः 'राष्ट्रिय सुरक्षाका निम्ति गम्भीर'

  • 19 डिसेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption ह्वाइट हाउसका प्रवक्ता जोश एर्नेस्टले अनुसन्धान भईरहेको बताएका छन्

एउटा हास्यप्रधान चलचित्रलाई लिएर सोनी पिक्चर्समाथि गरिएको साइबर आक्रमण राष्ट्रिय सुरक्षाका निम्ति गम्भीर विषय भएको अमेरिकाले जनाएको छ।

उक्त आक्रमणका कारण एउटा महत्वपूर्ण चलचित्रको प्रदर्शन रोकिन पुगेको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एकजना प्रवक्ताले उक्त कार्य एउटा निपुण तत्वबाट गरिएको हुन सक्ने बताएका छन्।

यद्यपि त्यसका लागि उत्तर कोरिया जिम्मेवार रहेको पुष्टि गर्न उनले अस्वीकार गरे।

संवेदनशील

कम्प्युटर ह्याकरहरुको चेतावनीपछि सोनी पिक्चर्सले दि इन्टरभ्यु नामक नयाँ चलचित्रको प्रदर्शन रद्द गरिएको जनाएको छ।

हास्यप्रधान भनिएको उक्त चलचित्र, उत्तर कोरियाका नेता किम जोङ्ग उनको बारेमा रहेको बताईएको छ।

यसअघि ह्याकरहरुले सोनी पिक्चर्सका कम्प्युटरहरुमा रहेका संवेदनशील सूचना सार्वजनिक गरिसकेका छन्।

अमेरिकामा भएको सेप्टेम्बर ११ को आक्रमणलाई इंगित गर्दै ह्याकरहरुले उक्त चलचित्र प्रसारण गरिए, उनीहरुकै शब्दमा विश्वसमा त्रास फैलिने चेतावनी दिएका छन्।

धेरै चलचित्र भवनहरुले उक्त चलचित्र प्रदर्शन गर्ने योजनाबाट पछि हटेपछि सोनी पिक्चर्सले त्यसको प्रदर्शन रद्द गरेको हो।

तस्वीर कपीराइट AFP
Image caption साइबर आक्रमणका कारण दि इन्टरभ्यु चलचित्रको प्रदर्शन रोकिएको छ

पछिल्लो घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भनिएको छ।

अनुसन्धान

बिहिबार पत्रकार ब्रिफिङ्गमा ह्वाइट हाउसका प्रवक्ता जोश एर्नेस्टले सोनी पिक्चर्समाथिको साइबर आक्रमणबारे दिनहुँजसो छलफल हुने गरेको र त्यसको छिट्टै उपयुक्त जवाफ दिईने बताए।

उनले भने, “यो कार्य एउटा निपुण तत्वबाट गरिएको देखिन्छ, एफबीआइ र कानून मन्त्रालयले यसबारे गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छन्।”

सोनी पिक्चर्सद्वारा निर्मित उक्त चलचित्रमा जेम्स फ्रान्को र सेथ रोजेनले पत्रकारको भूमिका निर्वाह गरेका छन्, जसलाई दर्शकको रुपमा किम जोङ्ग उनसंग अनुमति दिईएको छ।

त्यसपछि अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआइएले उनीहरुमार्फत किम जोङ्ग उनको हत्या गर्ने योजना बनाउँछ।

उक्त चलचित्र क्रिसमसका बेला प्रदर्शन हुने तय भएको थियो।