पाकिस्तानमा फाँसीको सजाय फेरि सुरु

  • 20 डिसेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption विद्यार्थीको नरसंहारपछि विद्रोहीहरुप्रति कडा सन्देश दिन सरकारमाथि दवाव बढेको थियो

पाकिस्तानमा जन्मकैदको सजाय भोगिरहेका दुइजना विद्रोहीलाई फाँसी दिइएको छ।

पेशावरस्थित एक विद्यालयमा नरसंहार भएलगत्तै प्रधानमन्त्री नवाज शरिफले फाँसीको सजायमा लगाइएको रोक्का फुक्का गरेका थिए।

नरसंहारमा यसै साता १ सय ४१ जनाको ज्यान गएको थियो जसमा अधिकांश विद्यार्थी थिए।

झुण्ड्याइएका विद्रोहीहरुको यो हप्ता पेशावरमा भएको घटनासँग कुनै सम्बन्ध थिएन।

दवाव

तर विद्रोहीहरुप्रति कडा सन्देश दिन सरकारमाथि दवाव बढ्दै गइरहेका बेला उनीहरुलाई झुण्ड्याइएको हो।

तिमध्ये एकजना पाकिस्तानी सेनाको मुख्यालय रावलपीण्डीमा आक्रमण गर्ने प्रमुख योजनाकारका रुपमा दोषी ठहर गरिएका थिए।

र अर्का व्यक्ति पूर्व राष्ट्रपति परवेज मुशर्रफको हत्या प्रयत्नमा दोषी ठहर्याइएको थियो।

उनीहरुलाई झुण्ड्याएर मारिएको घोषणा राष्ट्र संघीय मानव अधिकार कार्यालयले फाँसीको सजाय शुरु नगर्न आह्वान गरेको केहि घन्टापछि आएको थियो।

आगामी दिनमा अरु दोषी ठहर गरिएका विद्रोहीहरुलाई झुण्ड्याएर मारिने ठानिएको छ।

जन्मकैद

अधिकारीहरुका अनुसार फैसलावाद शहरमा ति विद्रोहीलाई झुण्ड्याइएको थियो।

पाकिस्तानी सन्चार माध्यमले दुइजना मारिएकाहरुको नाम अकील अर्थात डा उसमान र अरशद मेहमुद लेखेका छन्।

उसमान र मेहमुद दुवैले जन्मकैदको सजाय भोगिरहेका थिए।

पन्जाव प्रान्तका गृहमन्त्री शुन्जा कन्जाडाले एपीलाई बताएका छन्: "आगामी हप्ता थप आतंककारीहरुलाई झुण्ड्याउने योजना छ।"

पाकिस्तानमा सन २००८ देखि यता फाँसीको सजायमा रोक थियो।