पेशावर नरसंहारपछि सैनिक कारवाही

  • 20 डिसेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption पेशावर घटनापछि विद्रोहीविरुद्ध सेना आक्रामक भएको बताईएको छ

पेशावरस्थित एउटा सैनिक विद्यालयमा चार दिनअघि भएको नरसंहारपछि थप आक्रमण हुन सक्ने भयका बीच त्यसलाई रोक्न कदमहरु चालिएको पाकिस्तान सरकारले जनाएको छ।

दुईजना विद्रोहीलाई फाँसी दिईएको बदलास्वरुप प्रतिशोधात्मक आक्रमण हुन सक्ने डर पनि रहेको छ।

तालिबान र अन्य समूहहरुले आफ्ना सदस्यहरुलाई भगाउनका निम्ति जेलमा आक्रमण गर्न सक्ने भन्दै सुरक्षा दिन सेना परिचालन गरिएको अधिकारीहरुले बताएका छन्।

जेलहरुमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ।

पाकिस्तानी सुरक्षा अधिकारीहरुले मुलुकका विभिन्न भागमा आतंककारीहरु विरुद्ध कारवाही गरिएको र दर्जनौं मारिएको बताएका छन्।

कारवाही

स्रोतहरुलाई उद्धृत गर्दै पाकिस्तानको डन पत्रिकाले जनाएअनुसार खैबर एजेन्सीमा सेनाले गरेको हवाई आक्रमणमा सबैभन्दा बढी २० जना लडाकूहरु मारिएका छन्।

सेना प्रमुख राहिल शरिफले उक्त क्षेत्रको भ्रमण गरिरहेका छन्।

शरिफलाई उद्धृत गर्दै सेनाका प्रवक्ताले भने, “हाम्रो भूमिबाट अन्तिम आतंकवादीलाई निर्मुल नपारुञ्जेल कारवाही जारी रहने छ।”

यद्यपि राजधानी इस्लामावादस्थित कडा धारका एकजना चिरपरिचित धार्मिक नेताले तालिबानहरुलाई रोकिए उनीहरुको बाटोमा अरु आउन सक्ने बताएका छन्।

फाँसीमा लगाईएको रोक फुकुवा गरिएपछि पाकिस्तानले दश वर्षअघि हत्या गरेकोमा दोषी पाईएका एकजनालाई केही दिनभित्र झुण्ड्याईने जनाएको छ।

तस्वीर कपीराइट BBC World Service
Image caption सेना प्रमुख राहिल शरिफले 'आतंकवादीहरुलाई' निर्मुल पारिने बताएका छन्

दोषी ठहर गरिएका बेला ती व्यक्ति १४ वर्षका मात्र थिए। फाँसीको पर्खाईमा जेलमा रहेका लडाकूहरुलाई रिहा गर्नका निम्ति तालिबानले आक्रमण गर्न सक्ने आशंका गरिएको छ।

फाँसी

अधिकारीहरु भन्छन्, लडाकूहरुको रिहाईका निम्ति तालिबानले सैनिक अधिकारीहरुका बालबालिकाहरुको अपहरण गर्न सक्ने योजनाबारे उनीहरुलाई थाहा छ।

मंगलबार पेशावरस्थित विद्यालयमा गरिएको आक्रमणपछि पाकिस्तानले फाँसीमा लगाईएको रोक फुकुवा गरेको हो।

रोक फुकुवा भएपछि शुक्रबार पहिलो पटक कैदीहरुलाई झुण्ड्याईएको थियो।

झुण्ड्याईएकामध्ये एकजना पूर्वसेना पनि थिए।

सन् २००९ मा सैनिक मुख्यालयमा गरिएको आक्रमणका लागि उनी दोषी ठहर भएका थिए।

यसैबीच पाकिस्तानसंगको सीमा जोडिएको अफगानिस्तानको क्षेत्रमा नेटो सेनाले गरेको हवाई आक्रमणमा पाँच जना लडाकूहरु मारिएको त्यहाँ तैनाथ अन्तर्राष्ट्रिय सुरक्षा सहायता फौजले जनाएको छ।