निर्वाचन आयोगको पाँच वर्षे रणनीति

  • 24 डिसेम्बर 2014

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आवश्यक कार्ययोजना र प्रस्तावहरु सहितको पाँच वर्षे रणनीति तयार भइसकेको र दुई सातापछि यसलाई सार्वजनिक गरिने जनाएको छ।

तस्वीर कपीराइट bbc
Image caption प्रमुख आयुक्त उप्रेतीले निर्वाचनको मिति संविधानमै उल्लेख गर्नु पर्ने प्रस्ताव गरेका छन्

पहिलो रणनीति अनुसार संविधानसभाको दुईवटा निर्वाचन सम्पन्न गरेको र २०७६ साल सम्मको लागि दोस्रो पाँच वर्षे रणनीति तयार गरीएको उसको भनाई छ।

संसदको राज्य व्यवस्था समितिमा निर्वाचन आयोगले मंगलबार आफ्नो पाँच वर्षे रणनीतिबारे छलफल गरेको थियो।

यसअघिकै पाँच वर्षे रणनीतिमा थप सुधार गरेर आगामी पाँच वर्षको रणनीतिको मस्यौदा तयार गरेको प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले बताए।

निर्वाचन मिति

उनले भने, “रणनीति तयार भइसकेको छ। त्यसलाई अन्तिम रुप दिन बाँकी छ। एक हप्ता पछि यसलाई अनुमोदन गर्छौं र दोस्रो हप्तामा सार्वजनिक गर्छौं।”

आयोगले तयार गरेको दोस्रो पाँच वर्षे रणनीतिमा निर्वाचनको मिति संविधानमै उल्लेख गर्नु पर्ने, नेपालमा दक्षिण एसियाली प्रजातन्त्र तथा निर्वाचन अध्ययन संस्थान खोल्ने, आयोगका लागि चाहिने बजेट संसदले सोझै पास गरेर दिनु पर्ने, मतदाता शिक्षालाई व्यापक बनाउने जस्ता विषयहरु समेटिएको प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बताए।

मतदाता नामावली देखि प्रान्तीय तह सम्म आयोगको संरचनालाई सशक्त बनाउने सम्मका विषय समेटिएको उनले बताए।

योजना

“मतदाता नामावलीमा सुधारदेखि परिचय-पत्रमा सुधार, विद्युतीय यन्त्रको प्रयोग गर्ने, संगठनात्मक संरचनामा केन्द्र, प्रान्त र स्थानीय स्तर सम्मका निर्वाचन आयोगका संरचनालाई बलियो बनाउने कुरा समेटिएको छ। स्थायी रुपमा आयोगको जनशक्ति व्यवस्था गर्ने र यसको स्वायत्तताको बारेदेखि लिएर धेरै कुरा समेटिएका छन्” उप्रेतीले बताए।

त्यस्तै एसिया प्रशान्त क्षेत्रका निर्वाचन आयोगहरुको स्तरमा नेपालको निर्वाचन आयोगलाई पनि पुर्याउन यस रणनीतिमा योजना बनाइएको उप्रेती बताउँछन्।