युक्रेनद्वारा असंलग्न राष्ट्रको पहिचान त्याग

  • 23 डिसेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption युक्रेनको संसदमा असंलग्न राष्ट्रको हैसियत परित्याग गर्ने विधेयक राष्ट्रपति पोरोशेन्कोले प्रस्तुत गरेका थिए

युक्रेनको संसदले देशको असंलग्न राष्ट्रको हैसियतलाई त्याग गर्दै नेटो गठवन्धनको सदस्यता हासिल गर्ने तर्फ काम गर्ने पक्षमा मतदान गरेको छ।

तर मस्को युक्रेनले उक्त गठवन्धनमा सहभागिता जनाओस् भन्ने चाहंदैन।

एकजना वरिष्ठ रुसी कूटनीतिज्ञले त्यस्तो मतदानलाई एउटा अमैत्रीपूर्ण कार्य भने।

युक्रेनले लिंदै आएको तटस्थ वा असंलग्न नीतिलाई परिवर्तन गर्ने पक्षमा सभासदहरुले अत्यधिक बहुमतले मतदान गरेका थिए।

उक्त प्रस्तावको पक्षमा ३०३ र विपक्षमा जम्मा आठ मत परेको थियो।

आग्रह

मतदान अघि युक्रेनका विदेशमन्त्री पाब्लो क्लिमकिनले राष्ट्रपति पोरोसेन्कोले प्रस्तुत गरेको प्रस्तावको पक्षमा मतदान गर्न संसदलाई आग्रह गरेका थिए।

उक्त विधेयकले युक्रेनलाई नयां सुरक्षा प्रत्याभूतिको आवश्यकता परेकोमा जोड दिएको छ।

जुन रुसले क्राइमिया प्राय:द्वीपलाई आफूमा विलय गराएको र देशको पूर्वमा सैनिक अतिक्रमण गरे पछिको अवस्थामा युक्रेनले अनुभव गरेको चिन्ताको परिणाम हो।

तस्वीर कपीराइट AFP
Image caption देशको पूर्वमा जारी पृथकतावादी द्वन्द्व र रुसी सैनिक अतिक्रमणपछि युक्रेनले आफ्नो सुरक्षा चिन्ता बढेको जनाएको थियो

युक्रेनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्यताका लागि औपचारिक आवेदन कहिले गर्छ भन्ने स्पष्ट छैन।

उत्साहित

थुप्रै अधिकारीहरु त्यस्तो सम्भावनाले मूर्त रुप लिएछ नै भने पनि त्यो निकै टाढाको विषय भएको ठान्दछन्।

नेटोकै केही सदस्यहरु पनि युक्रेनलाई सदस्यता दिने विषयमा त्यति उत्साहित छैनन्।

मस्को भने युक्रेनले उक्त संठगनको सदस्यता लिने विषयको कडा विपक्षमा रहेको छ।

मंगलबार ओएससीईमा रुसका प्रतिनिधिले युक्रेनले आफ्नो असंलग्न राष्ट्रको हैसियत परित्याग गर्ने निर्णय गर्दा दुई देशको सम्बन्धमा असहजपन ल्याउने बताएका थिए।