जोर्डनी विमानका पाइलट आइएसको कब्जामा

  • 24 डिसेम्बर 2014
तस्वीर कपीराइट Raqqa Media Center
Image caption आइएस विरुद्ध थालिएको हवाइ हमलाका बेला खसेको यो पहिलो लडाकु विमान भएको ठानिएको छ

आफ्नो एक लडाकु विमान सिरियास्थित विद्रोही इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा खसेको जोर्डनको सैनिकले स्वीकार गरेको छ।

आइ एसले उसको मुख्यालय रहेको रक्का शहर नजिकै क्षेप्यास्त्र प्रहार गरेर सो विमान खसालिदिएको जनाएको छ।

उसले जारी गरेको फोटोमा विमान चालकलाई एउटा तालबाट बाहिर निकाल्दै गरिएको देखिन्छ।

आइ एस निशानाहरु विरुद्ध हवाइ हमला गरिरहेको अमेरिकी नेतृत्वको गठबन्धनमा रहेका ४ वटा अरब मुलुकहरुमध्ये जोर्डन एक हो।

कब्जा

आइ एस विरुद्ध थालिएको हवाइ हमलाको बेला खसेको गठबन्धनको लडाकु विमान यो नै पहिलो भएको विश्वास गरिएको छ।

एउटा लडाकु विमान खसालिएपछि त्यसका अरब पाइलटलाई कब्जा गरिएको खबर आफुहरुले बुधबार बिहानै आफ्ना सञ्जालमार्फत जानकारी पाएको युकेमा रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ।

आइ एस विद्रोही समर्थित रक्का मिडिया सेन्टरले उसको फेसबुक पेजमा राखेको फोटोमा केही सशस्त्र व्यक्तिहरुले पाइलटलाई ताल वा खोलाबाट बाहिर निकालीरहेको जस्तो देखिन्छ्।

उक्त व्यक्तिको मुखबाट रगत बगिरहेको र उनको लुगा भिजेको देखिन्छ।

उनलाई लेफ्टिनेन्ट कसास्बेहको रुपमा चिनाइएको छ।

अन्तर्वार्ता

उनका बुबा युसेफ अल कसास्बेहले आफ्नो छोरालेे चलाइरहेको विमान सिरियामा खसेको एक जोर्डनी पत्रिकालाई दिएको अन्तर्वार्तामा बताएका छन्।

बीबीसीका रक्षा मामिला सम्वाददाता जोनाथान मार्कस भन्छन्, आइ एससंग हवाई सुरक्षा प्रणाली सीमित रहेको ठानिन्छ।

विगतमा उनीहरुले इराकी तथा सिरियाली सरकारी सेनाका विमान तथा हेलिकप्टर खसालेका थिए।

विगत तीन महिना यता जोर्डन, अमेरिका, यूएइ, साउदी अरेबिया तथा बहराइनका हवाई फौजले सिरियामा आइ एस विरुद्ध सयौं हवाई हमला गरेका छन्।

अधिकांश हमलाको निशाना रक्का शहर रहेको छ, जसलाई आइ एसले आफ्नो क्यालिफेटको अघोषित राजधानी बनाएको छ।