'ग्यास अभाव एक हप्तामा अन्त्य हुने'

  • 27 डिसेम्बर 2014
Image caption भारतको बरौनी डिपोको मर्मत भइरहेकाले नेपालले ल्याउने ग्यासको परिमाण घटेको थियो

बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव पूर्ण रुपमा अन्त्य हुन अझै एक हप्ता लाग्ने नेपाल आयल निगमले जनाएको छ।

पछिल्ला दिनहरुमा खाना पकाउने ग्यासको अभाव चर्किंदै गएको थियो।

भारतबाट हुने आयातमा केही दिन यता देखिएको समस्याका कारण अभाव श्रृजना भएको र शुक्रबारदेखि आयात शुरु भइसकेको निगमको भनाई।

नेपालले ग्यास ल्याउने भारतको बरौनी डिपोमा मर्मतको कामले आपूर्तीमा अवरोध उत्पन्न भएको थियो।

हट्ने

निगमका अनुसार त्यसको सट्टा हल्दिया डिपोबाट आवश्यक परिमाणमा ल्याउन सकिएको थिएन।

हाल बरौनी डिपोमा मर्मतको काम सकिएकाले अब ग्यासको अभाव हट्ने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए।

उनले भने, "बरौनीकै जति परिमाण हल्दियाबाट आउन नसक्दा अभाव देखिएको थियो, मर्मतपछि बरौनीले तेल दिन शुरु गरि सकेकाले एक हप्ताभित्र ग्यासको अभाव हटेर जान्छ।"

तस्वीर कपीराइट noc
Image caption निगमले ग्यासको आपूर्ती बढाउनु पर्ने उद्योगीहरुको भाग छ

२०६८ सालमा नेपालमा आवश्यक पर्ने भनेर मासिक करिव साढे २२ हजार टन ग्यासको कोटा आयल निगमले निर्धारण गरेको थियो।

'बढाउनु पर्ने'

तीन बर्ष वितिसक्दा पनि कोटाको पूनरावलोकन नगरिएको ग्यास उद्योगीहरुको गुनासो छ।

नेपाल एलपी ग्यास उघोग संघका अध्यक्ष शिवप्रसाद रेग्मी भन्छन्, "हरेक वर्ष १३ प्रतिशत माग बढ्छ, तीन वर्षमा ३९ प्रतिशत माग बढिसक्यो, पुरानै परिमाण खरिद गर्दा यस्तो समस्या देखिएको हो।"

सरकारले अध्ययन गर्न बनाएको एउटा समितिले केही दिनभित्र प्रतिवेदन बुझाएपछि ग्यास परिमाणको कोटा बढन सक्ने निगमको भनाई छ।

त्यससँगै ग्यासको मूल्यलाई पनि अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गरेर घरायसी र व्यावसायिक गरी दुई प्रकारको मूल्य तोक्ने तयारी पनि उसले गरिरहेको जनाएको छ।