त्सुनामीको दशौँ स्मृति समारोह

  • 26 डिसेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption त्सुनामीको दशौ बार्षिकी श्रीलंकामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ

हिन्द महासागरमा आएको त्सुनामी र त्यसले पु याएकोब्यापक क्षतिको दशौं‌ बार्षिकी इन्डोनेशिया लगाएत त्सुनामी प्रभावित राष्ट्रहरुमा विभिन्न स्मृति समारोहरु गरेर मनाइएको छ।

दश बर्ष अघिको त्सुनामीमा दुईलाख बीस हजार भन्दा बढी मानिसहरुको ज्यान गएको थियो।

सन् २००४ को डिसेम्बर २६ मा हिन्द महासागरको समुद्र तलमा गएको भुईंचालोले उत्पन्न गरेको त्सुनामीको सबैभन्दा नराम्रो मार परेको इन्डोनेशियाको आचे प्रान्तको बाण्डा आचे शहरमा एउटा औपचारिक स्मारकको उद्घाटन गरिएको छ।

उक्त स्थानमा हजारौं शवहरु फेला परेको इन्डोनेशियाका उपराष्ट्रपति युशफ कल्लाले बताए।

पुष्पाञ्जली

उपराष्ट्रपति कल्लाले त्सुनामीको मारले ल्याएको पीडा र आंशु पछि अन्तर्राष्ट्रिय समूदायबाट प्राप्त अभूतपूर्व सहयोगको प्रशंसा पनि गरे।

उनले स्थानीय त्सुनामीले ल्याएको पीडाबाट सम्हालीन आचेलाई सहयोग गरेकामा स्थानीय स्वयं सेवक र बाहिरी विश्वलाई धन्यवाद दिए।

उनले दाता राष्ट्रहरुका राजदूतहरुलाई सम्मान पनि गरेका थिए।

आठ हजार जनाले ज्यान गुमाएका थाइल्याण्डमा, तिनीहरुको सम्झनामा आफन्तजन र थाइ प्रधानमन्त्री प्रयुथ चान ओ चा ले त्यहांको खाओ लाक समुद्री तटमा पुष्पाञ्जली अर्पण गरेका थिए।

मारिनेमा आधाभन्दा बढी पर्यटकहरु रहेका थिए।

रेल

श्रीलंकामा उक्त विपदको प्रतीक बन्न पुगेको ओसन क्वीन एक्सप्रेस रेललाई स्मृति समारोहहरुको केन्द्रमा राखिएको छ।

उक्त भिडभाडपूर्ण रेलमा त्सुनामीको मार परेको थियो।

श्रीलंकामा सत्रसय जनाको ज्यान गएको थियो।

त्सुनामीबाट बांचेका र त्यसमा ज्यान गुमाएकाहरुको आफन्तजन, मर्मत सम्भार गरेर चालु हालतमा ल्याइएको उक्त रेलमा चढेर त्सुनामीको मार परेको स्थान पेरालीया गएका थिए।

बांग्लादेश, म्यानमार, मलेसिया र मालदिभ्सलाई प्रभावित तुल्याएको त्सुनामी अफ्रीकी देशहरु केन्या, सोमालिया र तान्जानियामा पनि पुगेको थियो।

उक्त त्सुनामी विपदपछि त्सुनामी चेतावनी प्रणाली र आपतकालीन प्रकृयाहरु लागू गरेर भविष्यमा हुन सक्ने त्यस्तै खाले विपदका लागि क्षति न्यूनिकरण गर्ने उपायहरु अपनाइएको अधिकारीहरुले बताएका छन्।