उत्तर कोरियाद्वारा ओबामालाई गाली

  • 27 डिसेम्बर 2014
दि इन्टरभ्यु
Image caption सोनी पिक्चर्सले धम्कीको कारण देखाउँदै ‘दि इन्टरभ्यु’ भन्ने उसको चलचित्रको प्रदर्शन स्थगित गरीदिएको थियो

उत्तर कोरियाले संयुक्त राज्य अमेरिकामाथि आफ्नो मुलुकमा इन्टरनेट बन्द गराइदिएको आरोप लगाउँदै राष्ट्रपति ओबामामाथि गालीगलौज गरेको छ।

आफ्ना नेता किम जोङ उनमाथि व्यङ्ग्य गरिएको एक विवादास्पद चलचित्र अमेरिकामा प्रदर्शन गरिएपछि उत्तर कोरिया अमेरिकासंग क्रुद्ध भएको हो।

उत्तर कोरियाको राष्ट्रिय प्रतिरक्षा आयोग (एनडिसि) ले राष्ट्रपति ओबामालाई, उसकै शब्दमा, उष्णप्रदेशीय जङ्गलमा बस्ने बाँदर भन्दै हालै आफ्नो देशमा इन्टरनेट बन्द गर्ने कामकालागि उनी जिम्मेवार भएको आरोप लगायो।

उत्तर कोरियाकालागि भूतपूर्व ब्रिटिश राजदूत जोन एभेरार्डले भने, “२१ डिसेम्बरको दिन उत्तर कोरियाले आफ्नो अडानका बारेमा एउटा लामो वक्तव्य दिएको थियो, तर त्यसमा राष्ट्रपति ओबामाको अपमान गरिएको थिएन। तर आजको वक्तव्य निकै असभ्य खालको छ।“

आरोप

यसअघि अमेरिकाले उत्तर कोरियामाथि सो चलचित्र रोक्न अनधिकृत प्रयास गरेको आरोप लगाएको थियो।

चलचित्र निर्माण गर्ने एउटा कम्पनी सोनी पिक्चर्सले साइबर हमला तथा धम्कीको कारण देखाउँदै ‘दि इन्टरभ्यु’ भन्ने उसको चलचित्रको प्रदर्शन स्थगित गरीदिएको थियो।

पछि सो कम्पनीले आफ्नो निर्णयममाथि पुनर्विचार गर्दै क्रिसमसको दिन उक्त चलचित्र प्रदर्शन गर्ने निधो ग-यो।

सो चलचित्रमा उत्तर कोरियाका नेता किम जोङ उनमाथि व्यङ्ग्य गरिएको छ।

शनिबार प्रकाशित एक वक्तव्यमा एनडिसिले आफ्ना सर्वोच्च नेताको सम्मान माथि आँच पुराउने एउटा झूठ्ठा तथा प्रतिकृयावादी चलचित्र प्रदर्शन गरेको भन्दै अमेरिकाको निन्दा गरेको छ।

उसले सोनी पिक्चर्सको कम्प्युटर सन्जालमा उत्तर कोरियाले अनधिकृत पहुँच हासिल गरेको भन्ने अमेरिकी आरोप आधारहीन भएको पनि जनायो।

उक्त चलचित्रमा उत्तर कोरियाली नेताले दुई जना अमेरिकी पत्रकारसंग भेटन सहमति जनाउँछन्।

त्यो थाहा पाएपछि अमेरिकी गुप्तचर संस्था सिआइएले उनीहरुलाई किम जोङ उनको हत्या गर्ने जिम्मा दिन्छ।

तस्करी

सोलस्थित बीबीसीका संवाददाता स्टेफेन इभान्स भन्छन्, "उक्त चलचित्र निकै हाँसो लगाउने खालको छ तर उत्तर कोरियाली अधिकारीहरु त्यो तस्करी गरेर आफ्नो भूभागमा आइपुग्ला कि भनेर चिन्तित छन्।"

उक्त चलचित्रसंबन्धी विवाद चलिरहँदा गत २२ डिसेम्बरका दिन उत्तर कोरियामा घन्टौंसम्म इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

उत्तर कोरियाले त्यसकालागि संयुक्त राज्य अमेरिकामाथि दोष लगाएको छ, तर अमेरिकाले उक्त विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरीदिएको छ।

त्यसो त अमेरिकाले उत्तर कोरियालाई उसको आणविक कार्यक्रम स्थगित गर्न लामो समयदेखि दबाब दिंदै आएको छ।

तर चीनको समर्थन प्राप्त उत्तर कोरियाले उल्टै अमेरिका विरुद्ध नै गालीगलौज पूर्ण भाषा प्रयोग गर्ने गरेको छ।