धर्मगुरु विरुद्ध पक्राउ पुर्जी जारी

  • 27 डिसेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption पेशावर विद्यालय आक्रमणको भत्सर्ना नगरेपछि अब्दुल अजीजको विरुद्ध प्रदर्शन भएको थियो

पाकिस्तानको एउटा अदालतले राजधानी इश्लामावादस्थित लाल मस्जीदका कट्टरपन्थी धर्मगुरु अब्दुल अजीज गिरफ्तार गर्न पक्राउ पुर्जी जारी गरेको छ।

पेशावरस्थित स्कूलमा भएको आक्रमणको भत्सर्ना नगरेपछि उनको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई धम्क्याएको आरोप उनी विरुद्ध लगाइएको छ।

बीबीसीका दक्षिण एशिया सम्पादक अनवरअसन इथिराजन भन्छन्, अब्दुल अजीज तालेबान समर्थक कट्टरपन्थी धार्मिक गुरु हुन् ।

यो वर्षको शुरुवाततिर पूर्व अलकायदा नेता ओसामा बीन लादेनको सम्मानमा आफुले सन्चालन गरिरहेको विद्यालयमा पुस्तकालयको नामै परिवर्तन गरेर बीन लादेन पुस्तकालय राखेका थिए।

विरोध प्रदर्शन

अजीजले गत हप्ता एक सय पचास भन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणको भत्सर्ना नगरेपछि लाल मस्जीद बाहिर सयौं मानिसले विरोध प्रर्दशन गरेका थिए।

नागरिक समाजका अभियानकर्ताहरुले मस्जीदका कर्मचारीहरुले विरोध प्रदर्शनका बेला आफूहरुलाई धम्क्याएको बताएका छन्।

अभियानकर्ताहरुले अजीज विरुद्ध विरोध दर्ता गराएका थिए।

अजीजले उनी विरुद्धको आरोप मामुली भएको बताएका छन्।

उनी भन्छन्, “सारा देशमा हत्या र अपहरण गरेका कति घटना छन् अधिकारीहरुले तिनलाई गिरफ्तार गरुन् , ति बारे कसैले बोल्दैन किनभने ति शक्तिशाली छन्।”

उनले आफु विरुद्धको मुद्दा धेरै सानो भएकाले प्रहरीका सइले पनि धरौटी दिन सक्ने बताए।

प्रतिरोध

लाल मस्जीदका एकजना प्रवक्ताले अजीजलाई गिरफ्तार गर्ने प्रयत्न गरिए त्यसको प्रतिरोध गरिने बताएका छ्न।

पक्राउ पुर्जी कहिले कार्यान्वयन हुन्छ भन्ने स्पष्ट छैन।

प्रदर्शनकारीहरु पनि मस्जीद बाहिर गैर कानुनी प्रदर्शन गरेकोमा अनुसन्धानको घेरामा छन्।

पेशावर आक्रमणविरुद्ध उठेको विरोधपछि अधिकारीहरु इश्लामवादी र तिनका समर्थकलाई नछोडिने देखाउन चाहन्छन्।

यसै हप्ता सरकारले आतंकवादसँग लड्न सैनिक अदालत गठन गर्ने निर्णय गरेको थियो।