सम्झौता गरेर भए पनि समयमै संविधान: प्रचण्ड

  • 27 डिसेम्बर 2014
तस्वीर कपीराइट Surendra Phuyal
Image caption यसअघि पापडले दबाब स्वरुप समयमै संविधान जारी गर्न संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएको थियो।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अन्तिम समय सम्ममा सम्झौता गरेरै भए पनि माघ ८ मा संविधान जारी हुने बताएका छन्।

पछिल्लो समय सत्तारुढ दुई घटकले संविधानका विवादित विषयमा सहमति जुटाउनभन्दा प्रतिपक्षी दलहरु मोर्चा बनाएर त्यसलाई विफल बनाउन खोजिरहेको भन्ने टिप्पणी गरिरहँदा उनको त्यस्तो भनाइ आएको हो।

उनले संविधानसभाबाट संविधान जारी गर्ने मुख्य एजेन्डा आफ्नो पार्टीकै भएको भन्दै आफूहरु संविधान निर्माणबाट पछि हट्न नखोजेको बताए।

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले पुष १९ गतेदेखि आन्दोलन थाल्ने घोषणा गरेपछि संविधान निर्माणप्रति विपक्षी मोर्चा, खासगरी एकीकृत माओवादी गम्भीर नभएको आशंका व्यक्त हुन थालेका थिए।

संझौता

त्यसकै जवाफ ठानिएको शैलीमा शनिबार उनले अन्तिम समयमै सम्झौता गरेर भए पनि दलहरु संविधान जारी गर्ने पक्षमा रहेको बताएका हुन्।

शनिबार विभिन्न पाँच पेशागत समूहहरुको सञ्जाल पापडले समयमै संविधान जारी गर्ने विषयमा उनलाई ध्यानाकर्षण गराउँदा प्रचण्डले भने, "अब अन्तिममा पुग्दा सम्झौता गरेर भए पनि संविधान त बनाउन पर्छ भन्ने हो, छलफल बहस जति चले पनि संविधान त बनाउनुपर्छ भन्ने छ, संविधान माघ ८ मा बन्ने कि नबन्ने भन्ने विवादको विषय नै होइन।"

उनले संविधानसभा आफ्नो दलको मुद्दा भएको भन्दै संविधान जारी नभए त्यसको मुख्य घाटा एकीकृत माओवादीले व्यहोर्नुपर्ने तर्क सुनाए।

उनले अहिलेको मुख्य विवाद बाहिर चर्चामा आएजस्तो प्रदेशहरुको संख्यामा नभइ संघीयता कस्तो हुने भन्नेमा रहेको बताए।

बहस

उनले भने, "बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक नै हुने हो। त्यस्तो खाले संघीयता बनाउनको लागि बहस भइरहेको हो। अब बहस अन्तिममा कहाँ पुग्ला १/२ दिनमा थाहा होला।"

शनिबार नै नेपाल उद्योग वाणिज्य महासंघको टोलीले प्रचण्डलाई भेटेर घोषित आन्दोलन फिर्ता लिन गरेको आग्रहमा उनले आन्दोलन आफ्नो इच्छा नभइ वाध्यता भएको धारणा राखेको महासंघका प्रतिनिधिहरुले जनाएका छन्।

आन्दोलन घोषणा भएपनि एकीकृत माओवादी सहित प्रमुख दुई सत्तारुढ घटक कांग्रेस र एमालेले सहमतिको प्रयासलाई निरन्तरता दिएका छन्।

सोही क्रममा तीन दलीय कार्यदललबीच शनिबारपनि छलफल भएको नेताहरुले बताएका छन्।

तथापि औपचारिक रुपमा मुख नखोले पनि सहमतिको प्रयासमा सहभागी दलकै नेताहरुले अनौपचारिक रुपमा माघ ८ मा संविधान ल्याउन असम्भवप्राय: रहेकाले मस्यौदा भएपनि ल्याउन प्रयास भइरहेको बताएका छन्।