एयर एसियाको विमान बेपत्ता

  • 28 डिसेम्बर 2014
airasia तस्वीर कपीराइट Reuters
Image caption हराइरहेको विमानले खराब मौसमबाट जोगिन रुट परिवर्तनका लागि आग्रह गरेको बताइएको छ

इण्डोनेसियाबाट सिंगापुर गइरहेको एयर एसियाको विमान बेपत्ता भएको उक्त कम्पनीले जनाएको छ।

उक्त विमानमा चालक दलका ७ सदस्यसहित १ सय ६२ जना सवार थिए।

अधिकांश यात्रु इण्डोनेसियाली भएको जनाइएको छ।

इण्डोनेसियाको सुराबाया शहरबाट उडेको करिब ४५ मिनेटमा उक्त विमानले एयर ट्राफिक नियन्त्रण कक्षसंगको आफ्नो सम्पर्क गुमाएको बताइएको छ।

मलेसियास्थित एयर एसिया कम्पनीले ट्वीटरमा उल्लेख गरे अनुसार उक्त एयरबस विमान स्थानीय समय अनुसार बिहान करिब साढे ७ बजेदेखि हराएको हो।

उक्त विमान जाभा समुद्रमाथि रहेका बेला उसले सम्पर्क गुमाएको बताइएको छ।

सोही क्षेत्रमा अहिले इण्डोनेसियाली सैनिक विमानहरुले खोजी जारी राखेका छन्।

पाइलटले खराब मौसमबाट जोगिनका लागि रुट परिवर्तनका लागि आग्रह गरेको बताइएको छ।

तस्वीर कपीराइट EPA
Image caption एयर एसियामा सवार यात्रुहरुका शोकाकुल आफन्त विमानस्थलमा जम्मा भएका छन्

तर अधिकारीहरुले सहयोगका लागि पाइलटबाट कुनै अनुरोध नआएको बताएका छन्।

विमानमा सवारहरुका परिवारका सदस्य र साथीहरु विमानबारेको सूचनाको लागि सिंगापुरस्थित विमानस्थल र सुराबायामा जम्मा भएका छन्।

उक्त विमान मलेसियाको अत्यन्तै सफल र सस्तो विमान सेवा एयर एसियाको इण्डोनेसियाली शाखाको हो।

एयर एसिया अत्यन्तै सुरक्षित विमान सेवामध्ये मानिन्छ।

यसअघि यसै वर्ष मलेसियासंग जोडिएका दुईवटा विमान हराउनुका साथै दुर्घटनाग्रस्त भएका थिए।

पछिल्लो घटनासंगै उक्त संख्या तीन पुगेको छ।