एअरएशिया विमानको अवशेष फेला परेको पुष्टि

  • 30 डिसेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption एअरएशियाले समुद्रमा फेला परेको भग्नावशेष आफ्नो हराइरहेको विमानको भएको पुष्टि गरेको छ

एअरएशिया विमानसेवाका अधिकारीहरुले, इन्डोनेशियाको तट पारी समुद्रमा फेला परेको अवशेष, आइतबारदेखि हराइरहेको एकसय बैसट्ठीजना यात्रुहरु सवार यात्रुवाहक जेट विमानको भएको पुष्टि गरेका छन्।

इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले, ‌उक्त विमान दुर्घटनास्थलको हवाई निरिक्षण गरेका छन् जहांबाट दर्जनौं शवहरु निकालिएको थियो।

राष्ट्रपति विडोडोले त्यस क्षेत्रमा थप जहाजहरु पठाउने बताएका छन् , जुन क्षेत्रमा अग्ला र शक्तिशाली छालहरुका कारण खोजी कार्यमा व्यवधान परिरहेको छ।

नौसेनाले समुद्रबाट चालिसवटा शवहरु निकालिएको जनाएको थियो तर अन्य अधिकारीहरुले त्यस्तो संख्या निकै कम भएको बताएका छन्।

एअरएशियाले सार्वजनिक गरेको विज्ञप्तीमा, विमानको अवशेष इन्डोनेशियाको मध्ये कालीमान्टानको बोर्नीयो प्रान्तका दक्षिण पूर्वी दिशामा समुद्रमा फेला परेको जनाएको छ।

दु:खी

एअर एशियाका प्रमुख टोनी फर्नान्डेसले, उक्त विमान दुर्घटनाबाट आफु निकै दु:खी भएको बताएका छन्।

तस्वीर कपीराइट BBC World

उनले भने, “खोजी कार्यको थप जानकारीहरुको प्रतिक्षा भैरहंदा यो हामी एअरएशियाका सबैका लागि एकदमै गाह्रो समय हो।“

उनले विमानमा सवार यात्रुका आफन्तहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

तिनीहरुका लागि सहायताकर्मीहरु नियुक्त गरिने र थप जानकारीहरु चाहनेहरुका निम्ती आपतकालीन टेलिफोन कल सेन्टरको स्थापना गरिने उक्त कम्पनीको विज्ञप्तीमा भनिएको छ।

उक्त विमान कम्पनीले खोजी टोलीहरुले थप अवशेषहरुको खोजी जारी नै राख्‍ने बताएको छ भने अनुसन्धानकर्ताहरुले हालसम्म प्राप्त अवशेषहरुको विश्लेषण गर्दैछन्।

तस्वीर कपीराइट AP

उक्त दुर्घटनाग्रस्त विमानका अवशेषहरु मंगलबार केहि समयअघि फेला परेका थिए।

प्रसारण

विमानको अवशेष र तैरिरहेका शवहरुको तस्वीर इन्डोनेशियाली टेलिभिजनमा प्रसारण गरिएको थियो।

सुराबाया विमानस्थलमा भेलाभएका उक्त दुर्घटनाग्रस्त विमानका यात्रुहरुका आफन्तहरु, समुद्रमा तैरिरहेका शवहरुको दृश्य टेलिभिजनमा हेरेर रोएका थिए।

एकजना त बेहोस नै भएका थिए जस्लाई उपचारका लागि स्ट्रेचरमा बोकेर लगिएको थियो।

त्यस्तो दृश्य देखाउने टेलिभिजन च्यानलले दर्शकहरुलाई आघात पुग्ने गरी शवहरुको त्यस्तो दृश्य प्रसारण गरेकामा पछि क्षमा याचना गरेको थियो।

Image caption एअरएशियाका प्रमुखले दुर्घटनाग्रस्त विमानका यात्रुहरुका आफन्तलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्

इन्डोनेशियाको सुराबायाबाट सिंगापुर तर्फको यात्रामा रहेको उक्त एकसय बैसट्ठीजना सवार विमान आइतबार खराब मौसमको बेला एकाएक बेपत्ता भएको थियो।