एम्बुलेन्स सञ्चालन व्यवस्थित गर्ने तयारी

  • 30 डिसेम्बर 2014
तस्वीर कपीराइट .
Image caption मापदण्ड नपुगेका एम्बुलेन्सले बिरामी बोक्नु जोखिमपूर्ण रहेको बताइन्छ

नेपालमा सञ्चालनमा रहेका अधिकांश एम्बुलेन्सहरुमा बिरामीहरुका लागि प्राथमिक उपचारका सुविधाहरु समेत नभएको पाईएको भन्दै अधिकारीहरुले त्यस्ता एम्बुलेन्स सञ्चालनमा रोक लगाईने बताएका छन्।

मापदण्ड पुरा नगरेका एम्बुलेन्सलाई व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छिट्टै एम्बुलेन्स निर्देशिका ल्याउने तयारीमा जुटेको उनीहरुले बताएका छन्।

एम्बुलेन्स संचालन नीति २०६० ले हरेक एम्बुलेन्समा वर्गीकरण अनुसार जीवन रक्षाका लागि अत्यावश्यक औषधी, उपकरण, डाक्टर वा तालिम प्राप्त स्वास्थकर्मी हुनैपर्ने बाध्यकारी व्यवस्था गरेपनि व्यवहारमा त्यो लागु नहुँदा अस्पताल नपुग्दै कतिपय गम्भीर बिरामीले बाटोमै ज्यान गुमाउने गरेको अधिकारीहरु बताउँछन्।

अत्यावश्यक सुविधा भएको एम्बुलेन्सलाई क, त्योभन्दा केही कम तर विशेष व्यवस्था भएकालाई ख र सामान्य सुविधा भएकालाई ग र घ वर्गमा राखिएको छ।

सुविधा

नेपालमा क वर्गका तीनवटा मात्र एम्बुलेन्स छन् भने अधिकांश ग वर्गका रहेको स्वास्थ मन्त्रालयको भनाई छ।

ग वर्गमा पनि प्राथमिक उपचारका साधन, अक्सिजन सिलिन्डर, ‌‌औषधी तथा उपकरण लगायतका स्वास्थ सुविधाको व्यवस्था हुनुपर्नै हो।

तर नेपालका अधिकांश एम्बुलेन्स चालकको भरमा चलेको र ती ग वर्गमा पनि नपर्ने बताईन्छ ।

यस समस्याको समाधान गर्ने स्वास्थ्य निर्देशिकामार्फत विशेष व्यवस्था गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव राजीव पोख्रेले बताए।

उनले भने, "निर्देशिका बनाउँदैछौं, कानुनी रुपमा ती शर्तहरु उल्लंघन भएको पाएमा एम्बुलेन्स जफत गर्ने, बिगो बमोजिमको जरिवाना गर्ने गरी यो वर्षदेखिनै व्यवस्थित बनाउँछौं।"

हाल मुलुकभर सरकारी, गैरसरकारी तथा अस्पताल लगायतले एम्बुलेन्सहरु संचालन गरिरहेका छन्।

गम्भीर

विभिन्न दूतावासहरुले दिएका एम्बुलेन्स बाहेक नेपालमा मन्त्रालयबाट स्विकृती लिएका करिब १२ सय एम्बुलेन्सहरु छन्।

एम्बुलेन्समा सामान्य स्वास्थ सुविधा हुँदा पनि बिरामीको उपचारमा सजह हुने र गम्भीर बिरामीलाई मृत्युबाट बचाउन सकिने डाक्टरहरूको भनाई छ।

तर सरकारले जति नीति तथा कानुन ल्याएपनि त्यसको कार्यान्वयनतर्फ ध्यान नदिंदा यस्ता समस्या आइरहेको नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रिय महासचिव दिपक मुडभरी बताउँछन्।

उनी थप्छन्, "एम्बुलेन्स सञ्चालनमात्र गरेर भएन, मन्त्रालयले राम्रोसंग अनुगमन गर्नुपर्छ र नियम अनुसार नचल्ने एम्बुलेन्समाथि कारबाही गरिनुपर्छ।"

दुर्घटनामा परेका, आगलागीमा परेका, हृदयाघात, मष्तिष्कघात लगायतका बिरामीहरुलाई अस्पताल पुर्याउने क्रममा एम्बुलेन्समा भएका सामान्य सुविधाले पनि बिरामीको जीवनरक्षा तथा स्वास्थ्य सुधारमा निकै सहयोग पुर्याउने जानकारहरु बताउँछन्।