हराइरहेको विमानका यात्रुहरुको शव भेटिए

  • 30 डिसेम्बर 2014
तस्वीर कपीराइट EPA

इन्डोनेशियाका अधिकारीहरुले आइतबार देखि हराइरहेको एअरएशियाको विमानको हुनसक्ने अवशेषहरु फेला पारिएको बताएका लगत्तै समुद्रबाट दर्जनौं शवहरु बाहिर निकालिएको विवरणहरु प्राप्त भएका छन्।

इन्डोनेशियाली सेनाले कम्तीमा ४० वटा शवहरु फेला परेको बताएको छ। तर ति शवहरु उक्त हराइरहेको विमानमा सवार यात्रुहरुको मध्येको हो भन्ने औपचारिक पुष्टि गरिएको छैन।

खोजी टोलीहरुले इन्डोनेशियाको तट नजीकै जाभा सागरमा उक्त विमानको रंगहरु भएका बस्तुहरु फेला परेको बताएका थिए।

इन्डोनेशियाको सुराबायाबाट सिंगापुर तर्फको यात्रामा रहेको उक्त एकसय बैसट्ठीजना सवार विमान आइतबार खराब मौसमको बेला एकाएक बेपत्ता भएको थियो।

तस्वीर कपीराइट BBC World

उक्त विमानको खोजी कार्य जारी राखिएको मंगलबार तेस्रो दिन हो र खोजी कार्यलाई जमीन र समु्द्र गरी विभिन्न १३ क्षेत्रमा विस्तारित तुल्याइएको थियो।

एउटा पत्रकार सम्मेलनमा खोजी कार्यका प्रमुखले उक्त एअरएशिया विमानको भग्नावशेषसंगै पानीमा तैरिरहेको एउटा शवको दृश्य देखाइएको थियो, जुन पत्रकार सम्मेलनलाई इन्डोनेशियाली टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

त्यसपछि इन्डोनेशियाली नौसेनाले आफ्नो एउटा युद्धपोतले चालिसवटा शव समुद्रबाट निकालिएको बताएको थियो।

नौसेनाका एकजना प्रवक्ताले उद्धारकर्ताहरु थप शवहरुको खोजीमा "एकदमै व्यस्त" रहेको बताएका छन्।