मस्यौदाको जिम्मा मलाई दिनुस्: नेम्वाङ

  • 1 जनवरी 2015
ca
Image caption माघ ८ मा संविधान ल्याउन कठीन बन्दै गएपनि त्यसको मस्यौदासम्म ल्याउन सकिने आशा अझै व्यक्त भएका छन्

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सहमति हुन नसके संविधानको मस्यौदा तयार पार्ने जिम्मेवारी आफुलाई दिन दलका नेताहरुलाई आग्रह गरेका छन्।

दलहरुको प्रतिनिधित्व रहने संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा उनले सबैका तर्फबाट आफू परिआए सम्पूर्ण दोषको भागीदार बन्न तयार रहेको भन्दै यस्तो प्रस्ताव राखेका हुन।

नेम्वाङको प्रस्तावलाई सतारुढ दलहरुले समर्थन व्यक्त गरे पनि विपक्षी मोर्चाले भने सहमतिका लागि अझै समय रहेको भन्दै सहमतिकै निम्ति प्रयास गर्ने बताए।

विकल्प

संविधानसभाको अध्यक्षको हैसियतले केही प्रयास नगरेको भन्दै आलोचना खेप्दै आएका नेम्वाङले बिहीबार दुई विकल्प प्रस्तुत गरे।

पहिलो, दलहरुले आफैं सहमति गरुन् भन्ने थियो भने दोस्रो प्रस्तावमा चाहि उनले सहमति जुटन नसके आफूलाई मस्यौदा ल्याउने अधिकार दिन दलहरुलाई आग्रह गरेका थिए।

सहमतिका लागि दलहरुलाई चार दिन दिइएको उनले बैठकपछि संचारकर्मीहरुलाई बताए।

उनले भने, "विषयमा सहमति गर्नुहोस तर सक्नुभएन, अप्ठयारो प-योभने तपाईहरुको त्यो अप्ठयारो म फुकाइ दिन्छु, त्यो जिम्मेवारी मलाई दिनुहोस, देश र जनताको हितमा तपाईहरु सबैको तर्फबाट त्यो कालकुट विष पिउन म तयार छु”।

अध्यक्ष नेम्वाङले जोखिम वहन गर्न तयार रहेको संकेत गर्दै मस्यौदा लेख्न दिन प्रस्ताव राखेपछि बोल्ने क्रममा सतारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिको प्रयाससँगै प्रक्रियाको काम पनि थाल्नु पर्ने बताएका थिए।

तर विपक्षी एकीकृत नेकपा माओवादी र तराई केन्द्रित दलहरुले सहमतिको अर्को विकल्प नभएको बताए।

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले भने, "उहाँले धेरै ठूलो चिन्ता व्यक्त गर्नुभयो र माघ ८ गते संविधान जारी गर्नका लागि धेरै ठूलो जोखिम उठाउन पनि तयार हुनु भएको देखियो। तर हामीले भन्यौं कि अहिले त्यो समय आएको छैन, अहिले सहमतिकै प्रयास गर्नु पर्छ”।

छवि

दलका नेताहरुले ४ दिनमा सहमति गर्ने वचन दिंदै आफूलाई ‘विष पिउने’ अवस्था आउन नदिने आश्वासन दिएको नेम्वाङले बताए।

संविधानसभामा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि हाल सभासदहरुले धारणा राख्ने क्रम जारी रहेको र त्यो क्रम सकिएपछि कार्यव्यवस्था परामर्श समितिको अर्को बैठक आगामी सोमबारका लागि बोलाइएको बताइएको छ।

पहिलो संविधानसभाका पनि अध्यक्ष रहेका नेम्वाङले उतिखेर सक्रियता नदेखाएको भन्ने आरोप लाग्ने गरेको छ।

बिहीबार उनले दलहरुको तर्फबाट जोखिम बहन गर्न तयार रहेको जनाउ दिनुलाई विश्लेषकहरुले आफ्नो उक्त छवि यसपालि नदोहोरियोस् भन्ने उनको चाहनाको रुपमा अर्थ्याएका छन्।