अल जजीराका पत्रकारबारे पुन: सुनवाइ गर्न आदेश

  • 1 जनवरी 2015
तस्वीर कपीराइट Getty
Image caption पत्रकारहरुलाई जेल सजाय दिइएपछि इजिप्टको कडा आलोचना हुदैँ आएको छ

इजिप्टको सर्वोच्च न्यायलयले गरेको एउटा पुनरावलोकनले प्रतिबन्धित मुस्लिम बद्ररहुडलाई सहयोग गरेकोमा दोषी पाइएका अल जजीरा समाचार संस्थाका तीन जना पत्रकारहरु विरुद्धको मुद्दामा पुन: सुनवाइ गर्न आदेश दिएको छ।

बीबीसीका पूर्व सम्वाददाता पिटर ग्रेष्ट सहित तीन जना पत्रकारहरुलाई शुरुमा १० बर्षसम्मको जेल सजाय सुनाइएको थियो।

नयाँ आदेश आएपनि अर्को सुनवाई शुरु नहुन्जेलसम्म ती पत्रकारहरु जेलमा नै रहनुपर्नेछ।

आफुलाई सुनाइएको सजाय विरुद्ध पत्रकारहरु पिटर ग्रेष्ट, महमद फेमी र बेहर महमदले गरेको पुनरावलोकनको मागमा सुनवाइपछि उक्त आदेश आएको हो।

अवसर

अब नयाँ सुनवाइ एक महिना भित्रै शुरु हुने बताइएको छ।

अल जजीराका तर्फबाट बहस गरेका एक जना वकिलले भने, “यो हामीले ठ्याक्कै अपेक्षा गरेको जस्तो निर्णय होइन, तर यसले अघिल्लो सुनवाइ प्रकृयामा केहि त्रुटिहरु भएको स्वीकार गरेको छ।”

उनले पछिल्लो निर्णयले इजिप्टका राष्ट्रपतिलाई आरोपित पत्रकारहरु विरुद्ध कुनै कानुनी प्रकृया अघि नबढाइ उनीहरुलाई आफ्नै देशमा फिर्ता पठाउने विकल्प रहेको बताए।

सन् २०१३ मा तत्कालिन राष्ट्रपति मोहमद मोर्सीलाई सेनाले अपदस्थ गरेपछि प्रतिबन्धित मुस्लिम बद्ररहुडसँग साँठगाँठ गरेको भन्ने आफूहरुमाथि लगाइएको आरोपको ती पत्रकारहरुले खण्डन गर्दै आएका छन्।

उनीहरुले आफूहरुले समाचार संकलन मात्र गरेको बताउने गरेका छन्।

सन् २०१३ को डिसेम्बरमा पक्राउ गरिएका उनीहरुले एक बर्ष जेलमा बिताइसकेका छन्।

‌आरोपित मध्ये दुई पत्रकारलाई सात बर्ष र एकलाई १० बर्षको जेल सजाय गएको जूनमा सुनाइएको थियो।

संकेत

इजिप्टको उच्च न्यायलयको आदेशपछि अल जजीराका प्रवक्ताले तीनै जना पत्रकारलाई अन्यायपूर्वक जेलमा राखिएको र अब इजिप्ट सामु तत्कालै उनीहरुलाई रिहा गर्ने वा संसारको आँखामा आफ्नो देशको बदनाम भैरहन दिने विकल्प रहेको बताएका छन्।

कायरो स्थित बीबीसी सम्वाददाता भन्छिन्, यो मुद्दाले इजिप्टको छविमा गम्भीर धक्का पु-याइरहेकाले त्यहाँका अधिकारीहरु यो मुद्दा बन्द गर्ने मनस्थितिमा पुगेको संङ्केतहरु देखिन थालेका छन्।

अल जजीरा च्यानलको स्वामित्व रहेको कतार र इजिप्टबीच हालै सम्बन्धमा सुधार आएपछि यो मुद्दा चाँडै सुल्झिने अपेक्षाहरु बढेका छन्।

अल जजीराले दुई देशबीचको सम्बन्धमा देखिएको तिक्तताको प्रमुख कारण रहेको ठानिने उसको इजिप्टस्थित च्यानललाई बन्द गर्ने निर्णय डिसेम्बरमा गरेको थियो।