चालकविहीन पानी जहाज इटलीको नियन्त्रणमा

  • 2 जनवरी 2015
तस्वीर कपीराइट Reuters

इटलीका तटरक्षकहरुले, चालकदलका सदस्यहरुले अलपत्र छाडीदिएका चारसय जना आप्रवासीहरु सवार एउटा पानी जहाजलाई आफ्नो नियन्त्रणमा लिएका छन्।

इटलीको जलसीमामा यसै हप्ता भएको त्यस्तो प्रकारको यो दोस्रो घटना हो।

सियरा लियोनको झण्डा भएको उक्त पानी जहाजमा तटरक्षकहरु हेलिकप्टर मार्फत प्रवेश गरेका थिए र उक्त जहाजलाई दक्षिणी इटलीको बन्दरगाह तर्फ लगिएको थियो।

इजादीन नाम गरेको उक्त चालकविहीन पानी जहाजमा हेलिकप्टरबाट नयां चालकहरु ओरालिएपछि त्यो नियन्त्रणमा आएको जनाइएको छ।

इटलीको नौसेनाले पानीजहाज सुरक्षित पारिएको बताएको छ।

आप्रवासी

युरोपेली संघको नयां सीमा सुरक्षा दल, फ्रन्टेक्स, को गस्तीसंगै रहेको आइसल्याण्डको एउटा जहाजले इजादीन जहाजलाई तानेर दक्षिणी इटली तर्फ लगेको छ।

तस्वीर कपीराइट AP

उक्त पानी जहाजमा सैयौं आप्रवासीहरु थिए।

तिनीहरु मध्यपूर्वमा जारी युद्धबाट उम्कन भागेकाहरु हुन सक्ने अनुमान गरिएको छ।

तिनीहरु प्रत्येकले आफूलाई युरोप पु-याउनका लागि मानवतस्करहरुलाई हजारौं पाउण्ड रकम तिरेको हुन सक्छ।

यो हप्ता चालकहरुले अलपत्र छाडेको र आप्रवासीहरु सवार रहेको पानी जहाज इटलीले कब्जामा लिनु परेको यो दोस्रो घटना हो।

मानवतस्करहरुले बढ्दो रुपमा त्यस्तो तरिका अपनाउन थालेको देखिएको छ।

अलपत्र

पहिले अप्रवासीहरुलाई हालेर जहाज यात्रा शुरु ग-यो, त्यसपछि तटरक्षकहरुले फेला पार्न सक्ने गरी समुद्रको बीचमा लगेर पानी जहाजलाई अलपत्र छाडिदियो।

तस्वीर कपीराइट Reuters

अन्तर्राष्ट्रिय आप्रवसन संगठन, आइओएम, का एकजना प्रवक्ता फ्लाभियो डी ज्याकोमोले भने, "मानव तस्करहरुले टर्कीबाट युरोप प्रवेश गर्ने नयां जलमार्गको प्रयोग गर्न थालेका छन्।"

उनले ती मानव तस्करहरु सिरिया र टर्कीका भएको जस्तो देखिएको बताएका छन्, जस्ले लिबिया र इजिप्टबाट सानातिना डुंगाहरुको प्रयोग गर्ने मानव तस्करहरु भन्दा ठूला जहाजहरुको प्रयोग गरिरहेका छन्।