'माघ १ देखि खोप सहजै उपलब्ध'

  • 4 जनवरी 2015
तस्वीर कपीराइट PA
Image caption खोप लगाउन छुटेका बालबालिकाले उपलब्ध हुना साथ लगाउनु पर्ने बताईएको छ

जन्मने वित्तिकै बालबालिकालाई लगाइने क्षयरोग विरुद्धको बीसीजी र दादुरा तथा रुबेला विरुद्ध नौ महिनाको उमेरमा लगाइने एमएमआर खोपहरु माघ १ गते देखि सबै जिल्लाहरुमा सहजै उपलब्ध हुने अधिकारीहरुले बताएका छन्।

देशका विभिन्न जिल्लाहरुमा ती खोपहरुको झण्डै डेढ महिना देखि अभाव देखिएको थियो।

कतिपय जिल्लाहरुमा अभावका कारण खोप लगाउन छुटेका बालबालिकाहरुले उपलब्ध हुनासाथ पुन: खोप लगाएर पनि जोखिमबाट बचाउन सकिने उनीहरुको भनाई छ।

उपलब्ध

नेपालमा ११ वटा रोगहरु विरुद्ध बालबालिकाहरुलाई खोप लगाईंदै आइएको छ। अघिल्लो वर्ष समयमै खोप खरिद गर्न नसक्दा दुईथरी खोपको अभाव देखिएको अधिकारीहरुले बताएका छन्।

हाल विश्वमा बीसीजी उत्पादन गर्ने चारवटा कम्पनी र एमएमआर उत्पादन गर्ने एउटा मात्रै कम्पनी रहेकोमा सार्वजनिक खरिद ऐन अनुसार उनीहरुसँग खरिद गर्न नमिलेकाले अभाव झेल्नु परेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर सेनेन्द्रराज उप्रेतीले बताए।

बोलपत्र आव्हान गर्दा आपुर्तीकर्ताहरुले लागत अनुमान भन्दा धेरै मूल्य राखेकोले उक्त बोलपत्र अस्वीकृत भई हाल समस्या आएको उनको भनाई छ।

तर यसपटक बालबालिका सम्बन्धि राष्ट्रसंघीय निकाय युनिसेफबाट खोप लिइएकोले माघको सुरुबाट खोपहरु सहजै उपलब्ध हुने उनले बताए।

उनले भने, “पुषको अन्तिम हप्तामा खोप आइपुग्छ। सबै ठाउँमा पुर्याउन दुईदेखि पाँच दिन लाग्छ। माघ एक गतेदेखि सबै ठाउँमा खोप पुर्याइसक्छौं।”

विकल्प

बीसीजी खोप जन्मने बित्तिकै दिइने गरेको भए पनि एक वर्षभित्रमा जहिले पनि दिन सकिने र एमएमआर खोप नौ महिनामा दिन सिफारिस गरिने भए पनि त्यो पनि एक वर्षभित्रमा दिँदा फरक नपर्ने चिकित्सकहरुको भनाइ छ।

यस पटकको अभावबाट पाठ सिकेर आगामी दिनमा समस्या दोहोरिन नदिने विकल्प खोजिनु पर्ने महानिर्देशक उप्रेतीले बताए।

“दुई वर्षपछिलाई चाहिने खोप खरिदका लागि अहिलेदेखि नै करार गर्ने हो कि भन्ने एउटा विकल्प छ। अर्को भनेको युनिसेफहरु जस्तो निकायसँग सम्झौता गर्ने हो कि। ता कि उनीहरुले एकमुष्ट खरिद गर्छन् र उनीहरुले नै हामीलाई आपूर्ति गरुन् र हामीले युनिसेफलाई पैसा तिर्छौं,” उप्रेतीले भने।

अब एकलाख एम्पुल बीसीजीको खोप आउने र त्यो आगामी ६ महिनाको लागि पर्याप्त हुने, त्यसैगरी एमएमआर दुई पटक गरेर ४० हजार भाईल आउने र त्यसले तीन महिना पुग्ने अधिकारीहरुले बताएका छन्।

बीसीजीको एक एम्पुलमा २० मात्रा र एमआरको एक भाईलमा १० मात्रा खोप हुन्छ।