पेरिसमा हमलाकारीहरुको खोजी जारी

  • 7 जनवरी 2015
तस्वीर कपीराइट BBC World Service

फ्रान्सेली प्रहरीले कम्तीमा १२ जनाको ज्यान जानेगरी राजधानी पेरिसस्थित एउटा व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा हमला गर्ने बन्दुकधारीहरुको खोजी गरिरहेका छन्।

स्थानीय समय अनुसार बुधबार बिहान उक्त पत्रिकाको कार्यालयमा मुकुन्डो लगाएका बन्दूकधारीहरुले जबर्जस्ती प्रवेश गरी गोली प्रहार गरेर भागेका थिए।

मारिनेहरुमा दुईजना प्रहरी र उक्त पत्रिकाका दशजना पत्रकारहरु रहेका बताइएको छ।

राजधानी पेरिसमा सुरक्षा व्यवस्था कडा पारिएको छ र हमलाकारीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ।

राष्ट्रिय शोक

राष्ट्रपति फ्रांस्वा ओलांदले बिहीबार राष्ट्रिय शोक मनाइने घोषणा गरेका छन्।

बुधबार राती टेलिभिजनबाट प्रसारित एक वक्तव्यमा उनले उक्त हमला गणतन्त्र फ्रान्स र उसको प्रजातान्त्रिक मान्यताहरुमाथिको हमला भएको बताए।

उनले यस्ता हमलाबाट सरकार तथा फ्रान्सेली जनता विचलित नहुने पनि बताए।

उनले राष्ट्रिय एकताकालागि आह्वान पनि गरे।

अन्धाधुन्ध

यसअघि घटनास्थलको भ्रमण गर्दै राष्ट्रपति ओलांदले सो पत्रिकामाथिको हमलालाई “अद्वीतिय क्रूरता” को कार्य भनेका थिए।

ती आक्रमणकारीहरुले एसल्ट राइफलबाट अन्धाधुन्ध गोली चलाएका प्रत्यक्षदर्शीहरुले बताएका छन्।

तस्वीर कपीराइट AFP

एउटा फ्रान्सेली टिभी च्यानलसंग बोल्दै एकजना प्रत्यक्षदर्शी बेन्वा ब्रिन्गरले भने, “कालो कपडाले अनुहार छोपेका दुईजना मानिसहरु हातमा कलाश्नीकोभ राइफल बोकेर उक्त पत्रिकाको कार्यालय रहेको भवनमा प्रवेश गरेका थिए।

"त्यसको केहि मिनेट पछि हामीले धेरै नै गोली चलेको आवाज सुन्यौं।“

अधिकार

उनले आतंकवादीहरुले फ्रान्सेली गणतन्त्रले रक्षा गरेको अधिकार र स्वतन्त्रताहरुको प्रयोग गरिरहेका पत्रकारहरुको हत्या गरेका बताए।

तस्वीर कपीराइट Reuters

साप्ताहिक रुपमा प्रकाशित हुने उक्त व्यंग्य पत्रिकाले समाचार तथा समसामयिक विषयहरुका बारे गरेका व्यंग्यात्मक प्रस्तुतिलाई लिएर विगतमा विभिन्न विवादहरु भएका थिए।

उक्त पत्रिकाले हालै मात्र उग्रवादी समूह इस्लामिक स्टेटका नेता अब बक्र अल बग्दादीको कार्टुन सामाजिक संजालको एउटा वेबसाइट ट्वीटरमा प्रेषित गरेको थियो।

त्यसअघि सन् २०११ उक्त पत्रिकाले मुसलमानहरुका धर्मगुरु पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन प्रकाशित गरेको थियो।

त्यसपछि उक्त पत्रिकाको कार्यालयमा पेट्रोलबम प्रहार भएको थियो।